ओली र कम्युनिस्टविरुद्धको आन्दोलनमा सहभागी हुन तरुणहरूलाई निर्देशन

काठमाडौं । नेपाल तरुण दलले फागुन ३ गते देशभरि गर्न लागेको सरकार विरोधी प्रदर्शनमा सक्रिय सहभागिता जनाउन मातहतलाई निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार ७७ वटा जिल्लाका तरुण अध्यक्षहरूलाई परिपत्र गरेर नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको कामचलाउ सरकारविरुद्धको आन्दोलनमा सहभागी हुन निर्देशन दिएका हुन् ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड– १९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली कांग्रेस पार्टीको केन्द्रीय समितिको निर्देशानुसार फागुन ३ गते सोमबारको विरोध प्रदर्शनमा सहभागी गर्नु/गराउनु’, परिपत्रमा भनिएको छ ।

कांग्रेस जिल्ला समितिको नेतृत्वमा ७७ वटै जिल्लामा विरोध प्रदर्शन र विरोध सभा आयोजना गर्ने निर्णय भएको छ ।

‘विरोध कार्यक्रम एवं सभालाई भव्य रुपमा सम्पन्न गर्न नेपाल तरुण दल त्यस जिल्ला समितिले जिल्लाका सम्पूर्ण तरुणहरूलाई उक्त विरोध कार्यक्रममा सहभागी गर्न/गराउन यो परिपत्र गरिएको छ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

कांग्रेसले फागनु ३ गते देशभरि कामचलाउ ओली सरकारविरुद्ध असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोधमा प्रदर्शन गर्दैछ ।

तरुण दललाई ती विरोध कार्यक्रमहरूमा जवरजस्त रुपमा उपस्थित हुन केन्द्रले निर्देशन दिएको छ ।

कम्युनिस्ट नेताहरूको व्यक्तिगत स्वार्थले प्रतिनिधि सभा भङ्ग गरेर केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूह सडक आन्दोलनमा छन् ।

दाहाल–नेपाल समूह संसद पुनःस्थापनाको पक्षमा आन्दोलनमा छ । ओली समूह निर्वाचनको पक्षमा सडक प्रदर्शन गर्दै आएको छ ।

कांग्रेसले सर्वोच्च अदालतको फैसलालाई मानेर जाने निर्णय गरेको छ । कांग्रेस पनि कम्युनिस्टहरूको भ्रष्टाचार र अनियमितताविरुद्धमा छ ।

Published : Saturday, 2021 February 13, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया