कम्युनिस्टसँग मिलेर कांग्रेस जानु हुँदैनः सचिव महर्जन

जनकपुरधाम । नेपाली कांग्रेस युवा नेता एवम् खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले जनताले बलिदान गरेर ल्याएको लोकतन्त्र तानाशाह कम्युनिस्टहरूले धरापमा परेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसको तरुण विभाग प्रदेश नम्वर २ ले शनिबार जनकपुरधाममा आयोजना गरेको बिचार गोष्ठी कार्यक्रममा महर्जनले आफू तराईबासीहरूको ऋणि रहेको बताए ।

२०५९ सालमा चितवनमा भएको नेपाल तरुण दलको अधिवेशनमा आफू तत्कालीन मध्यमाञ्चलको भोटले केन्द्रीय सदस्य पदमा निर्वाचित भएको बताए । त्यस बेला तराईको भोटले आफूलाई जिताउन ठूलो महत्व राखेको उनले बताए ।

महर्जनले कांग्रेसमाथि विभिन्न खालका आक्षेपहरू लागेका बेला खेलकुद विभाग र तरुण विभाग सक्रिय रहेको बताए ।

विभागमार्फत गतिविधि बढाएर इतिहास बोकेको कांग्रेस पार्टी चलाएमान भइरहेको महर्जनले बताए ।

अब तरुण विभागले तरुण दललाई निर्देशन दिएर देशैभरि तरुणलाई परिचालन गरि आन्दोलनमार्फत लोकतन्त्र जोगाउन लाग्नुपर्ने उनले बताएका छन् ।

जनताको आस्था कांग्रेसप्रति बढ्दै गइरहेको अबस्थामा कांग्रेसका नेताहरूको एउटै स्वर भएर तानाशाह कम्युनिस्टविरुद्ध लाग्नुपर्ने महर्जनले बताएका छन् ।

युवा नेता महर्जनले कांग्रेस सर्वोच्च अदालतको निर्णय पर्खिरहेको भन्दै अदालतले मध्यावधि निर्वाचनलाई सदर गरेमा चुनावमा जान तयार रहेको बताए ।

संसद पुनःस्थापन भएमा कम्युनिस्टसंग मिलेर जान नहुने नेता महर्जनले बताएका छन् ।

‘कम्युनिस्टले कांग्रेसलाई पटक–पटक धोका दिएको छ’, उनले भने, ‘कम्युनिस्टहरूलाई नेपाली जनताले तिरस्कार गरिसकेका छन् ।’

जनताले ५ वर्षको लागि प्रतिपक्षमा बस्ने जनमत दिइसकेको बताएका उनले भने, ‘५ वर्षसम्म कांग्रेसले दह्रो प्रतिपक्षको भूमिका निभाउँछ ।’

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई नेपालको पहिलो रास्ट्रपति बनाउने आश्वासन दिएर पुष्पकमल दाहालले धोका दिएको उनले बताए ।

‘गिरिजाबाबु राष्ट्रपतिको लोभमा चुनावका बेलामा देशभरि चुनावी अभियानमा जानु भएन । घरमा आराम गरेर बस्नुभयो’, महर्जनले भने, ‘त्यसको परिणाम कांग्रेस सानो आकारमा खुम्चिनु पर्‍यो ।’

‘अहिले पनि पुष्पकमल दाहालले हाम्रा नेताहरूलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने भनेर झुटको खेती गरिरहेका छन्’, उनले भने, ‘झुटको खेतीमा कांग्रेस लाग्नु हुँदैन ।’

कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण विभागका प्रमुख शंकर भण्डारी कार्यक्रमका प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रम तरुण विभाग २ नम्वर प्रदेशका प्रमुख रामपल्टन साहले सभापतित्व गरेका थिए ।

कार्यक्रममा २ नम्बर प्रदेशका कांग्रेस जिल्ला साभापति र तरुणहरूको बाक्लो उपस्थित रहेको थियो ।

Published : Saturday, 2021 February 13, 2:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया