वामदेवको पालामा कांग्रेसको नाक राख्ने यादवसँग खेलकुद विभागद्वारा भेट

लहान । नेपाली कांग्रेसको खेलकुद विभागले अस्वस्थ्य रहेका सदस्य उपेन्द्र यादवको स्वास्थ्यस्थितिका बारेमा जानकारी लिएको छ ।

विभागका प्रमुख मोहनबहादुर बस्नेतले सचिव एवम् कांग्रेसका युवा नेता महर्जनलाई यादवको निवास सिरहा पठाएका हुन् ।

राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष समेत रहेका महर्जनले यादवसँग निवासमै भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । विभागका सदस्य यादव खेलकुद परिषदका पूर्व सदस्य पनि हुन् ।

माघ ५ गते यादवलाई हृदयघात भएको थियो । विराटनगरमा उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको छ । यादवले अझै एक महिना घरमै आराम गर्नुपर्नेछ ।

कांग्रेस नेता यादव २०५४ सालको स्थानीय निकायको निर्वाचनमा सिरहा नगरपालिकामा उप–मेयरमा जितेका थिए । तत्कालीन एमालेबाट गृहमन्त्री बनेका वामदेव गौतमले मुलुकभरि कब्जा गरेका बेला यादवले सिरहामा कम्युनिस्टलाई हराएर शानदार मतका साथ कांग्रेस इज्जत बचाएका थिए ।

कांग्रेस नेता यादव सिराहा जिल्लामा निकै लोकप्रिय मानिन्छन् । यादवलाई भेट्न युवा नेता महर्जनका साथमा नेपाली कांग्रेस गोदावरी नगरपालिकाका नगर सभापति सुरज श्रेष्ठ, नेपाल विद्यार्थी संघ (नेविसंघ) ललितपुरका सचिव दीपक घिमिरे, नेविसंघ ललितपुरका कोषाध्यक्ष दिनेश घोरासाइने, नेता तेजप्रसाद घिमिरेसहितका नेताहरू पुगेका थिए ।

Published : Friday, 2021 February 12, 6:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया