कम्युनिस्टहरूबीच पैसाको भाग नमिलेपछि भाँडभैलोः कांग्रेस नेता बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले प्रधानमन्त्री खड्गप्रसाद ओलीले गल्ती सच्याउन समयमा चुनाव गर्नुपर्ने बताएका छन् ।

रिर्पोटर्स क्लव नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा बस्नेतले कांग्रेस चुनावको पक्षमा रहेको दोहो¥याए ।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू तपाईंले गर्नुभएको अपराध पखाल्न निर्वाचन गर्नुस् ।’ उनले देशमा चुनाव हुने सुनिश्चितता अनिवार्य भएको बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका बस्नेतले अदालतलाई थ्रेट दिने कार्य बन्द गर्न चेतावनी दिएका छन् । प्रधानमन्त्री ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूले अदालतलाई धम्की दिइरहेको भन्दै न्यायालयमाथि कसैले पनि अनावश्यक दवाव दिन नहुने बताए ।

उनले भने, ‘अदालतलाई कसैले थ्रेट दिन मिल्दैन । केपी ओलीजी र विरोधीहरूले अदालतलाई थ्रेट दिन मिल्दैन ।’

प्रतिनिधि सभा पुनःवहाली भएपनि कांग्रेस मान्न तयार रहेको बस्नेतले बताएका छन् । कम्युनिस्टहरूले सत्ता र पैसाको लागि लडाइँ गरिरहेको आरोप उनले लगाएका छन् ।

‘कम्युनिस्टहरूको लेनदेन, पैसा र सत्ताको लडाइँ हो’, उनले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली मिलेर लोकतन्त्रको घाँटी निमोठेका छन् ।’

Published : Friday, 2021 February 12, 6:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया