कांग्रेसले बुझ्न नसकेको झाँक्री काण्ड, तरुण उपाध्यक्षद्वारा भित्री खुलासा

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाइँले कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नै पार्टीकी नेतृलाई पक्राउ गरेर तत्कालै छाडेको विषयप्रति गम्भीर आशंका जनाएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत युवा नेता चापागाइँले अभिव्यक्ति दिएकै भरमा कसैलाई पनि पक्राउ गर्न नपाइने बताए । तर, उनले आफ्नै पार्टीको नेतृलाई पक्राउ गरेर ओलीले के गर्न खोजेका हुन् भनेर प्रश्न गरेका छन् ।

‘संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएको छ । लोकतन्त्र भनेकै अभिव्यक्ति स्वतन्त्रता पनि हो । कांग्रेस जहिले पनि लोकतन्त्र बलियो होस् भन्ने चाहन्छ’, उनले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनका बेला कम्युनिस्टले जिते भने रुन पनि पाइन्न भनेर त्यत्तिकै भनेको होइन ।’

युवा नेता चपागाइँले ओलीले आफ्नै पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्नुको कारण खोजेका छन् । ‘रामकुमार झाँक्रीमात्रै नभइ बोलेकै भरमा कसैलाई पनि पक्राउ गर्न पाइँन्न’, उनले भने, ‘रामकुमारी झाँक्रीलाई किन पक्राउ गरियो ? किन तत्कालै छाडियो ? कम्युनिस्टहरूको गम्भीर षड्यन्त्र लुकेको छ ।’

दुईतिहाइको बहुमत हुँदा पनि सरकार चलाउन नसकेर प्रतिनिधि सभा भङ्ग गरेका कम्युनिस्टहरूले मुलुकमा अधिनायकवाद ल्याउने षड्यन्त्रअन्तर्गत रामकुमार झाँक्रीलाई पक्राउको नाटक गरेको आरोप चपागाइँले लगाएका छन् । उनले वैशाखको निर्वाचनलाई बिथोल्नका लागि जनतालाई उत्तेजित बनाउन ओलीले गतिविधि गरेको आरोप लगाए ।

नेकपा कानूनी रुपमा विभाजन भएको छैन । ओलीले पनि सडकमा प्रदर्शनहरू गर्दै आएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले पनि सडकमा प्रदर्शन गर्दै आएको छ । उनीहरू दुबै समूहले पार्टी विभाजन नभएको दाबी गर्दै आएका छन् ।

यस्तो अवस्थामा ओलीले आफ्नै पार्टीकी नेतृ झाँक्रीलाई पक्राउको नाटक गरेर रिहाइ गर्नुले विभिन्न आशंकाहरू उब्जाइदिएको छ ।

तरुण उपाध्यक्ष चापागाइँले कम्युनिस्टहरूको अधिनायकवादी चरित्र र फुटेको नाटक गर्ने नेकपा मिल्ने तयारी स्वरुप झाँक्री काण्ड गरेको आरोप लगाएका छन् ।

Published : Thursday, 2021 February 11, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया