कांग्रेस नेतृ न्यौपानेद्वारा ४० वर्षे प्रावधानको विरोध, भट्टका दोषीलाई कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् महिला विभागकी प्रमुख ईश्वरी न्यौपानेले संविधानले दिएको अधिकार र सर्वोच्च अदालतलको नजिर विपरित अध्यागमन विभागले प्रस्ताव गरेको कार्यविधिको विरोध गरेकी छिन् ।

प्रमुख न्यौपानेले बिहीबार सामाजिक सञ्जालमार्फत महिलाका लागि ल्याउन लागिएको नयाँ प्रावधानको विरोध गरेकी हुन् ।

उनले ४० वर्षमुनिका महिलालाई एक्लै भ्रमणमा जाँदा राखेको प्रावधान मानवअधिकार हनन् र महिलामाथिको विभेदको पराकाष्ठा रहेको बताएकी छिन् ।

‘महिला सुरक्षाको लागि अपनाउनुपर्ने अन्य बाटोहरू हुँदाहुँदै त्यसबाट पन्छिएर चाल्न लागेको यो कदमको घोर भर्त्सना गर्दछु’, न्यौपानेले भनेकी छिन्, ‘यसको विरोध सबै एकजुट भएर लागौँ ।’

यसैबीच, विभागकी प्रमुख न्यौपानेले भागरथी भट्टका दोषीलाई कारबाहीको माग गरेकी छिन् ।

न्यौपानेले बैतडीको दोगडाकेदार गाउँपालिका निवासी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोध गरेकी हुन् ।

उनले भट्टको बलत्कार र हत्या प्रकणको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेकी छिन् ।

घटनाको भर्त्सना गर्दै न्यौपानेले अनुसन्धानमा कुनै पनि लापरवाही नगर्न आग्रह गरेकी छिन् ।

पीडितलाई न्याय दिलाउनका लागि खबरदारी गर्न कांग्रेस बैतडीसँग समन्वय गरी स्थलगत अवलोकनसहित आवश्यक कार्य गर्ने गरी विभागकी सदस्य राधिका सिंहलाई खटाएको छ ।

माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा दोगडाकेदारस्थित सनातन धर्म माविका छात्रा भट्टको लबलेक सामुदायिक वनको जङ्गलमा बलात्कार र हत्याको घटनाले सिङ्गो मुलुकलाई फेरि स्तब्ध बनाएको जनाउँदै विभागले भट्टको परिवारलाई उचित क्षतिपूर्तिको मागसमेत गरेको छ ।

Published : Thursday, 2021 February 11, 11:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया