ठाकुरबाबामा कांग्रेसको भेला, कम्युनिस्टविरुद्ध भण्डाफोर अभियान चलाउने घोषणा

ठाकुरबाबा । नेपाली कांग्रेस बर्दियाका नेताहरूले कम्युनिस्टहरूका कारण खतरामा परेको राष्ट्रियता र लोकतन्त्रलाई बचाउनुपर्ने बताएका छन् ।

ठाकुरबाबा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसको वडा कार्यसमितिले मंगलबार आयोजना गरेको क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्ने नेताहरूले कांग्रेस पराजित हुँदा राष्ट्रियता र लोकतन्त्र कमजोर भएको बताएका हुन् ।

नेताहरूले कांग्रेसले राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्ने धारणा राखेको कांग्रेसको संगठन विभागका केन्द्रीय सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाले जानकारी दिए ।

कम्युनिस्टहरूको गलत कुराहरूविरुद्ध गाउँका जनतालाई जानकारी गराउने गरि भण्डाफोर अभियान चलाउने विषयमा पनि नेताहरूले धारणा राखेको तिमिल्सिनाले बताए ।

कांग्रेसका क्रियाशील सदस्यहरूले ठूला नेताहरूको आन्तरिक द्वन्द्वले पार्टीमा समस्या रहेको गुनासो गरेका थिए । कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरूले कांग्रेस पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको बताएका थिए ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा.गोपाल दहितले गाउँबाट कांग्रेसलाई बलियो बनाएर लैजानुपर्ने बताए । गाउँको कांग्रेस बलियो भयो भने मात्रै देशको विकास हुने डा.दहितले बताएका छन् ।

वडा नं. २ का वडा सभापति तीर्थबहादुर खड्काको सभापतित्वमा भएको भेलालाई केन्द्रीय सदस्य डा.गोपाल दहित, बर्दिया कांग्रेसका पूर्वसभापति अरुणप्रकाश सिंह राठौर, संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिना, महासमिति सदस्य विद्याप्रसाद खनाललगायतले धारणा राखेका थिए ।

Published : Tuesday, 2021 February 9, 8:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया