भागरथी बलात्कारको विरोधमा नेविसंघद्वारा ओलीको गृहजिल्लामा प्रदर्शन

बुद्धशान्ति । नेपाल विद्यार्थी संघ (नेविसंघ) बुद्धशान्ति, झापाले महिला हिंसाको विरोधमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टका दोषीलाई कारबाहीको माग गर्दै नेविसंघले मंगलबार बिहान प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले सरकारले मुलुकमा शान्ति सुरक्षा बनाउन नसकेका कारण महिला हिंसा बढेको बताएका थिए ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाकी पूर्वप्रमुख सचेतक सरिता प्रसाइँले दिनदिनै महिला बलात्कृत हुँदा पनि प्रधानमन्त्री र मन्त्रीहरूलाई बोलाएर निर्देशन दिन नसकेको भनेर आलोचना गरिन् ।

‘महिला राष्ट्रपति हुँदा हामी खुसी भएका थियौँ । विद्या भण्डारी राष्ट्रपति भएर आफूमात्रै सुरक्षित हुनुभएको छ’, उनले भनेकी छिन्, ‘विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि विवादित हुनुभयो । महिला बलात्कृत भएका छन् । उहाँले सरकारलाई महिला बलात्कार हुँदा कारबाही र सुरक्षाका लागि निर्देशन दिनुभएको छैन ।’

कांग्रेस नेतृ प्रसाइँले राष्ट्रपति भण्डारी मात्रै सुरक्षित भएर नहुने बताएकी छिन् । उनले सबै महिला सुरक्षित हुनुपर्ने बताएकी छिन् ।

गृहमन्त्री रामबहादुर थापाले बलात्कारलाई सानो घटना भनेर विगतमा दिएको अभिव्यक्तिको उनले आलोचना गरेकी छिन् । ‘आफ्नो छोरीलाई पर्दा मात्रै बुझ्नु हुन्छ होला’, उनले भनेकी छिन्, ‘गृहमन्त्री थापाले देशका छोरीहरू मेरा पनि छोरी हुन् भन्नुपर्छ ।’

प्रदर्शनमा सहभागी विद्यार्थीले प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकारले मुलुकमा महिला हिंसा रोक्न नसकेको बताए । उनीहरूले ओलीकै गृहजिल्ला झापामा पनि शान्ति सुरक्षा नाजुक अवस्थामा रहेको आरोप लगाएका छन् ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका प्रमुख एवम् कांग्रेस नेता रमेशकुमार भुजेल, जिल्ला सदस्य लीला ढकाल, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, चक्र सेर्मा, मदन प्रसाइँ, सञ्जय निरौला, गोकुल पौडेल लगायतका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2021 February 9, 12:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया