भागरथी प्रकरणमा तरुण दलको चासो, न्यायका लागि कम्युनिस्ट सरकारसँग भिड्ने

काठमाडौं । नेपाल तरुण दलले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सोमबार विज्ञप्ति जारी गरेर १७ वर्षीया किशोरी भट्टको हत्याको घटनाले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनले दोषीलाई पक्राउ गरेर हदैसम्मको कारबाही माग गरेका छन् ।

दोगडाकेदार– ७ चडेपानीकी भट्टको माघ २१ गते बुधबार विद्यालयबाट घर फर्किदै गर्दा सम्पर्क बिहीन भएकी थिइन् । उनको शव माघ २२ गते बिहीबार गाउँ नजिकैको लबलेक जंगलमा बलात्कार गरी विभत्स एवम् पाशविक किसिमले हत्या गरिएको थियो ।

घटनाले नेपाल तरुण दलको केन्द्रीय समितिको गम्भीर ध्यान आकृष्ट गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘हृदयविदारक एवं दर्दनाक घटनाको नेपाल तरुण दल केन्द्रीय समिति घोर निन्दा एवम् भर्त्सना गर्दछ’, अध्यक्ष बस्नेतले भनेका छन्, ‘यस हत्याकाण्डमा मृत भागरथी भट्टको आत्माको चीर शान्तिको कामना गर्दै आमाबुवा एवम् आफन्तजनमा यस दुखद् घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने प्राथर्ना गर्दै नारी असमिताको रक्षा गर्न र समाजमा शान्ति र अमन, चयन कायम गर्न वर्तमान ओली सरकार नराम्ररी चुक्दै गएको हुँदा पटकपटक हाम्रा चेलीबेटीहरुले बलात्कृत भई मर्नु पर्ने बाध्यता देशमा सृजना भएको छ ।’

‘मानिसको शान्तिपूर्ण रुपले इज्जत साथ बाच्न पाउने नैसर्गिक अधिकारमाथि धावा बोल्दै समाजका कसिङ्गरका रुपमा रहेका अपराधिक मनोवृतिका घृणित एवम् हिंस्रक व्यक्तिहरूबाट घटाइएको त्यस बलात्कारपछिको हत्याकाण्डमा संलग्न अपराधीहरूलाई छिटोभन्दा छिटो पक्राउ गरी कानूनको कठघरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न र मृत भागरथी भट्टलाई न्याय दिन दल सरकारसंग जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘देशमा बढ्दै गएको यस्तो जघन्य अपराधिक घटनामा सरकार र यसका सम्बन्धित निकाय निष्क्रिय भएर अपराधमा संलग्नलाई कारवाही गर्न ढिलासुस्ती देखाएमा दल आन्दोलनमा उत्रन बाध्य हुने र त्यसबाट उत्पन्न गम्भीर परिणामको जिम्मेवार सरकार आफै हुनुपर्ने चेतावनी समेत दिन चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ ।

भट्टको बलात्कारपछि हत्या भएको घटनाले मुलुकभरि तरंग उत्पन्न भएका बेला तरुण अध्यक्ष बस्नेतले विज्ञप्ति जारी गरेर घटनाप्रति गम्भीर चासो देखाएका छन् ।

Published : Monday, 2021 February 8, 11:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया