ठाकुरद्वारामा नेकपाका २९ जना कांग्रेसमा प्रवेश, अनुशासित हुन तिमिल्सिनाको अनुरोध

ठाकुरद्वारा । नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र अनुशासन कायम अनिर्वाय रहेको बताएका छन् ।

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका– ९, ठाकुरद्वारामा सोमबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेताहरूले पार्टीलाई क्रियाशील बनाउन अनुशासन अनिवार्य रहेको बताए ।

नेपाली कांग्रेसको संगठन विभागका केन्द्रीय सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाले पार्टीमा नेता कार्यकर्ताहरूमा अनुशासन आवश्यक रहेको बताए । उनले भने, ‘असल कार्यकर्ता अनुशासित हुनुपर्छ । अनुशासन भएन भने पार्टीमा अराजकता आउँछ ।’

युवा नेता मितिल्सिनाले पार्टीभित्र अराजकता मौलाएको बताएका छन् ।

कांग्रेस नेता तिमिल्सिनाले गाउँ, वडाहरूमा पार्टीका नेता कार्यकर्ताहरूलाई प्रशिक्षण चलाउनुपर्ने बताए । उनले भने, ‘केन्द्रको कुरा, कम्युनिस्टहरूको भण्डाफोर, कांग्रेसका राम्रा कुरालाई कार्यकर्तालाई जानकारी गराउनुपर्छ ।

तिमिल्सिनाले कम्युनिस्टहरूले संसद भङ्ग गरेर संविधान विपरितको कार्य गरेको बताए । उनले भने, ‘कम्युनिस्टहरू निर्वाचन गर्न पनि चाहेका छैनन् । संसद पुनःस्थापना गर्ने पक्षमा पनि छैनन् । हामीले दवाव दिएर संविधानको रक्षा गर्नुपर्छ ।’

लोकतन्त्रवादीहरू कमजोर भएकै कारण मुलुकमा कम्युनिस्टहरूले अराजकता निम्ताएको उनले आरोप लगाएका छन् । ‘लोकतन्त्रवादीहरू कमजोर हुँदा राष्ट्रियता र प्रजातन्त्र कमजोर भएको छ’, उनले भने, ‘लोकतन्त्रवादीहरू बलियो हुँदा मात्रै देश र जनताको विकास हुन्छ ।’

नेकपाभित्रको आन्तरिक झगडा र कमिशनमा कुरा नमिलेका कारण पार्टी विभाजन गरेर एकले अर्कालाई नङ्ग्याउने कार्य गरेको उनले आरोप लगाएका छन् ।

‘कम्युनिस्टहरूभित्र कुनै पनि सिद्धान्तको लडाइँ होइन’, उनले भने, ‘भ्रष्टाचारमा कमिशन नमिलेका कारण संसद भङ्ग गरेर जनताले दिएको जनमतको धज्जी उडाएका छन् ।’

बर्दिया कांग्रेसका पूर्वसभापति अरुण राठौरले पार्टीभित्र एकताको खाँचो रहेको बताएका छन् । उनले नेताहरूले एकले अर्कालाई आलोचना गर्दा कांग्रेस कमजोर हुने बताए ।

वडा सभापति विजया खनालको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका २९ जना स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई युवा नेता तिमिल्सिनाले पार्टीमा स्वागत गरेका थिए ।

तीन महिनादेखि गाउँ–गाउँमा संगठन सुदृढीकरणको अभियान चलाउँदै आएका युवा नेता तिमिल्सिनाले नेकपाका झण्डै एक हजार नेता कार्यकर्तालाई कांग्रेसमा भित्र्याइसकेका छन् ।

Published : Monday, 2021 February 8, 3:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया