डा.शर्माको टिमले चौथो पटकको शल्यक्रियाबाट बच्चा जन्मायो

काठमाडौं । जटिल मानिने चौथो सिजरिङबाट नर्भिक अस्पतालमा बैतडीकी ३७ वर्षीया नीरा बोहराले स्वस्थ बच्चा जन्माएकी छिन् ।

वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ एवम् ल्याप्रस्कोपिक सर्जन डा.नुतन शर्माले शुक्रवार नर्भिक अस्पतालमा बोहोराको चौथो शल्यक्रियामार्फत प्रसुति गराएकी हुन् ।

पहिलो र दोश्रो पटक प्रसुति गृहमा सिजरिङबाट जन्मिएका बच्चाहरू खेर गएका थिए । बोहराको तेस्रो पटक पनि सिजरिङबाट बच्चा जन्मिएको थियो ।

तेश्रो पटक बच्चा जन्माउँदा पनि डा शर्माले नै बोहोराको शल्यक्रिया गरेकी थिइन् ।

सामान्यतः एक पटक शल्यक्रियामार्फत प्रसुति भएमा आमा र बच्चाको स्वास्थ्यमा जोखिम हुने भएकाले अर्काे पटक पनि सिजरिङबाट नै प्रसुति गराउनु सुरक्षित मानिने चिकित्सकको भनाई छ ।

‘मलाई चौथो पटक पनि सिजरिङबाट बच्चा जन्माउन सकिन्छ भन्ने थाहा थिएन’, बोहराले भनिन्, ‘अहिले म साह्रै खुशी छु । दुई पटकसम्म बच्चा खेर गएको थियो ।’

‘तेस्रो पटक बच्चा भएपछि मलाई हँुदैन भन्ने लागेको थियो’, उनले भनिन्, ‘डा नुतन शर्माको मेहनतले मैले दुई सन्तान पाएको छु । उहाँ मेरा लागि भगवान जस्तै हुनु भएको छ ।’

चौथो पटक सिजरिङ गरेर बच्चा जन्मिनु दर्लभ घटना रहेको डा.शर्माले बताएकी छिन् ।

नर्मल डेलिभरीबाट बच्चा जन्मिनु आमाको स्वास्थ्यका लागि राम्रो हो । ‘गर्भावस्थामा बच्चाको स्वास्थ्य अवस्था, आमाको स्वास्थ्यमा देखिएको जोखिम जस्ता कुराको आंकलन गरेर बाध्यात्मक अवस्थामा हामीले शल्यक्रियाबाट प्रशुति गराउँदछौं’, डा. शर्माले भनिन् ।

तेस्रो पटक शल्यक्रिया भएका महिलाले बच्चा पाउन सक्दैनन् भन्ने गलत मान्यतालाई आफूहरूले सम्भव बनाएको डा.शर्माले बताएकी छिन् ।

‘दुई वटा बच्चा खेर गएपछि तीन वर्षअघि उहाँ बच्चा जन्माउने योजना लिएर आउनुभएको थियो’, डा.शर्माले भनेकी छिन्, ‘उहाँको तेश्रो बच्चा सफलतापूर्वक जन्मियो ।’

बोहरालाई चौथो पटक बच्चा जन्माउने रहर एवम् पारिवारिक बाध्यता थियो ।

डा. शर्माले भनिन्,‘सामान्यतया तीन पटकसम्म सिजरिङ हुन्छ । कतिपय अवस्थामा यो भन्दापनि बढि हुनसक्छ भन्ने प्रमाणित भएको छ ।’

अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । दुवै जनालाई केही दिनमा डिस्जार्च गरिने डा.शर्माले बताइन् ।

Published : Monday, 2021 February 8, 2:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया