कांग्रेसको सरकार आयो भने कामचलाउ ओली सरकारको निर्णय खारेज गरिदिन्छौँः युवा नेता महर्जन

पोखरा । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागका सचिव एवम युवा नेता मीनकृष्ण महर्जनले कम्युनिस्टहरूको भागबण्डाको कारण संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताएका छन् ।

पोखरामा बुधबार नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक खेलकुद संघको घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष समेत रहेका महर्जनले लोकतान्त्र बचाउनका लागि कांग्रेसले जिम्मेवारीपूर्ण भूमिका निभाउनुपर्ने बताए । उनले कम्युनिस्ट अधिनायकवाद कांग्रेसलाई कुनै हालतमा मान्य नहुने बताए ।

कांग्रेस संबैधानिक सर्वोच्चतामा विश्वास गर्ने पार्टी भएको बताएका युवा नेता महर्जनले सर्वोच्च अदालतको फैसलालाई कांग्रेसले स्वीकार गरेर अगाडि बढ्ने बताए । ‘सर्वोच्च अदालतले जे निर्णय गर्छ त्यसलाई कांग्रेसले स्वीकार गर्छ’, उनले भने, ‘देशमा भएका विभिन्न घटनाहरूको अनुसन्धान गर्ने हो भने सबैमा कम्युनिस्टहरूनै संलग्न छन् ।’

उनले तीन वर्षभित्र असफल भएको नेकपाले मुलुकलाई चलायो भने देश कंगाल बन्ने चेतावनी दिएका छन् । ‘कम्युनिष्टहरूले सरकार चलाउन असफल भइसके’, महर्जनले भने, ‘मुलुकलाई कंगाल हुनबाट बचाउनुपर्छ । कांग्रेसले जनताको विश्वास जितेर नेतृत्व सम्हाल्नुपर्छ ।’

कम्युनिस्टका नेताहरू देखेर नेपाली जनता आजित भइसकेको बताएका युवा नेता महर्जनले कांग्रेसप्रति विश्वास बढ्दै गएको बताएका छन् ।

कांग्रेसका नेताहरूका नेताहरू सानातिना कुरामा नअल्झेर नेपाली जनातको मन जितेर शीर्ष नेताहरू एकठिक्का भएर अगाडि बढ्न विभागका सचिव महर्जनले सुझाव दिएका छन् ।

युवा नेता महर्जनले संसद भङ्ग गरेर कामचलाउ भएको केपी ओलीको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न चेतावनी दिएका छन् । ‘निर्वाचन घोषणा गरेर कामचलाउ बनेको ओली सरकारलाई दीर्घकालीन महत्व र असर गर्ने खालका निर्णय गर्नु हुँदैन । निर्वाचन आचार संहितमा पालना गर्नुपर्छ’, चेतावनी शैलीमा महर्जनले भने, ‘कांग्रेससँगको सरसल्लाहविना हुने निर्णयलाई कांग्रेस सरकारमा आयो भने ओलीका सबै निर्णय खारेज गरिदिन्छौँ ।’

कम्युनिस्टप्रति आक्रामक मानिने महर्जन खेल क्षेत्रको विकास कांग्रेसले मात्रै गर्ने बताएका छन् । उनले खेलकुद विभागमार्फत कांग्रेसले १३औँ सागका विजेताहरूलाई नगदसहित पुरस्कार प्रदान गर्नुका साथै विभिन्न खेलकुद गतिविधि गरिरहेको बताएका छन् ।

विभागका प्रमुख एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको प्रत्यक्ष निर्देशनमा कोरोना महामारीका बेला देशभरि खेलाडीहरूले रक्तदान गरेको समेत महर्जनले स्मरण गरेका छन् ।

Published : Thursday, 2021 February 4, 12:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया