बदनाम नागरिक आन्दोलनका नाममा अस्थिरतामाथि खेल्न खोज्दै पश्चिमाहरू, डलरको खोलो बग्यो

काठमाडौं । ‘कथित’ बृहत नागरिक आन्दोलनका नाममा पश्चिमा राष्ट्रहरूले नेपालमा आफूलाई पुनः सक्रिय बनाउन थालेका छन् । नागरिक आन्दोलनको नाममा सडकमा देखिएका अनुहारहरू विगतमा डलर ल्याएर कुम्ल्याउनेहरूको जमात धेरै छ । अहिले पनि ती अनुहारमध्ये केही अनुहार एनजिओ र आईएनजिओमा संलग्न छन् ।

उनीहरूका गतिविधि धेरै संकास्पद छन् । विगतमा पश्चिमा राष्ट्रहरूले जातिवादी संघ, संगठनहरूलाई ठूलो लगानी गरेर जातीय हिँसा मच्चाउन खोजेका थिए । पहिलो संविधान सभाका बेला पश्चिमा राष्ट्रहरू अर्थात युरोपियन युनियनका देशहरू हाबी भए पनि दोस्रो संविधान सभामा उनीहरू हाबी हुन सकेनन् । दोस्रो संविधान सभामा नेपाली कांग्रेस ठूलो पार्टी भएपछि पश्चिमा राष्ट्रहरू आफै साइड लागेका थिए ।

संसद भङ्ग भएपछि राजनीतिक संकट भएको ठानेर पश्चिमा राष्ट्रहरू फेरि सलवलाएका छन् । नारायण वाग्ले, युग पाठक, खगेन्द्र संग्रौलालगायतका व्यक्तिहरू ‘कथित’ बृहत नागरिक आन्दोलनका नाममा सडकमा देखिएका छन् । यी अनुहारहरू एनजिओ र आईएनजिओसँग निकट भएका थिए । अहिले पनि उनीहरू पश्चिमा राष्ट्रहरूको लगानी रहेका एनजिओ र आईएनजिओमा संलग्नता रहेको आरोप छ ।

नागरिक भनेका को हुन् ? त्यै पढेलेखेका २–४ जना कथित बुद्धिजीवी, केही थान पत्रकार कि केही एनजिओ वा आइएनजिओवाला ? कि अवकाशे सरकारी जीवनमा पेन्सन खाएर सरकारविरुद्ध डकार्ने पूर्व विशिष्ट कर्मचारी ? कि पेन्सन खाने पूर्व प्रोफेसर ? को हो नागरिक समाज ? अनेकौँ प्रश्न उब्जिएका छन् ।

उखुको मूल्य नपाएर मृत्युवरण गर्ने किसान, मलखाद नपाएर उत्पादन गर्न नसकेर ऋणमा डुबेका किसान, कोरोनाकालमा पनि पारिश्रमिक नपाएर थला परेका रिपोर्टर, सडकमा दैनिकी बिताउने गरिब यस्तै ! के यी नागरिक होइनन् ? अनि प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्धको तिम्रो नागरिक समाजमा यिनको प्रतिनिधित्व छ ? भनेर सामाजिक सञ्जालमा प्रश्न पनि उठेका छन् । नागरिक आन्दोलनका नाममा भएको अहिलेको आन्दोलनलाई जनताले पत्याएका छैनन् । नागरिक आन्दोलनमा देखिएका अनुहार स्वार्थी, अवसरवादी र डलरमा बिकेकाहरू रहेको भन्दै जनताले नपत्याएका हुन् ।

विगतमा यस्तै खालका नागरिक समाज र नागरिक आन्दोलनले नेपालमा अस्थिरता ल्याउन खोजेका थिए । जातिवादी संघ, संगठनहरू आफै हराएर गएका छन् । तर, डलर खान पल्केकाहरूले आफूलाई सुधार गर्न सकेका छैनन् । संसद विघटन भएको बहाना बनाएर डलर पचाउने खेल भएको छ । सडकमा २०–३० जना देखिएर नागरिक आन्दोलन हुनेछैन । नागरिक आन्दोलन उठ्नका लागि इमान, इमान्दारिता, विश्वास हुनुपर्नेछ । विदेशीको इशारामा हुने नागरिक आन्दोलनमा जनता हुनेछैनन् ।

नागरिक आन्दोलनमा भन्दा राजनीतिक दलहरूले गरेका आन्दोलन र प्रदर्शनमा जनताको उल्लेख्य सहभागिता देखिने गरेको छ । राजनीतिक दल र नेताहरूलाई जति गाली गरेपनि जनताले उनीहरूलाई नै विश्वास गर्छन् । विदेशको पैसा खाएर तोकिएको आन्दोलन गर्ने नागरिक समाजलाई जनताले बहिस्कार गरिसकेका छन् । कथित नागरिक आन्दोलन बन्द गरेर आफ्नै खेतीपातीमा लागेहुन्छ । ओलीको असंवैधानिक कदमविरुद्ध राजनीतिक दलहरूनै काफी छन् । पश्चिमा राष्ट्रहरूले दुःख नगरेपनि हुन्छ ।

Published : Thursday, 2021 February 4, 12:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया