सैनिक ‘कु’को तरुण दलद्वारा विरोध, प्रजातन्त्र फिर्ता गर्न माग

काठमाडौं । नेपाल तरुण दलले म्यानमारमा भएको सैनिक ‘कु’को विरोध गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले स्टेट काउन्सिलर आङ सान सुकीसहितका उच्च तहका नेताहरूलाई पक्राउ गरिएकोमा विरोध विरोध गरेका छन् । बस्नेतले म्यानमारमा प्रजातन्त्र फिर्ताको माग गरेका छन् ।

‘गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहाना बनाई बर्माको क्रुर तानाशाही प्रवृत्तिको सेनाले माघ १९ गते स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्टन र प्रदेश मुख्य मन्त्रीहरूलाई अपदस्त गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘पक्राउ गरी लोकतन्त्रको हत्या गरेको घटनाको नेपाल तरुण दल केन्द्रीय समिति घोर निन्दा र भर्त्सना गर्दछ’, उनले भनेका छन् ।

‘आजको सभ्य मानव समाजलाई नै चुनौतीको रुपमा देखिएको बर्माको सैनिक प्रवृतिलाई जनताको जनमतको कदर गर्न र यसो वा त्यसोको बहाना नबनाई प्रजातन्त्रको मूल्य मान्यतालाई आत्मसाथ गरी नयाँ संसदको आधिकारीक नतिजालाई स्वीकार गर्न, लोकतन्त्रका धरोहर विश्व समाजवादी नेता आङ सान सुकी लगायत अपदस्त नेताहरूलाई रिहा गर्न र बर्मामा प्रजातन्त्रको प्रक्रियालाई सुचारु गर्न नेपाल तरुण दल केन्द्रीय समिति चेतावनी दिन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल तरुण दल मानव अधिकार र जनताको शासनमा पूर्ण विश्वास राख्ने तरुणहरूको संगठन भएकोले विश्वका कुनै पनि देशमा हुने प्रजातन्त्र एवं जनताको शासन विरोधी गतिविधिको निन्दा र विरोध गर्दै त्यहाँका स्वतन्त्रता प्रेमी जनसमुदायसंग नैतिक साथ, समर्थन र सहयोग निरन्तर रहने विश्वास दिलाउँन चाहन्छौँ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

Published : Tuesday, 2021 February 2, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया