ओलीको गाउँ बालुकोटमा कांग्रेसको राँके जुलुस, कम्युनिस्टहरूको सातोपुत्लो उड्यो

बालकोट । नेपाली कांग्रेसको भ्रातृ संस्थाहरूले भक्तपुरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार र प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध प्रदर्शन गर्नुका साथै राँके जुलुस प्रदर्शन गरेको छ ।

भक्तपुरको बालकोटमा कांग्रेसका भ्रातृ संस्थाहरूले सोमबार साँझ ओलीविरुद्ध राँके जुलुस प्रदर्शन गरेका हुन् । उनीहरूले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नारावाजी गरेको नेपाल तरुण दल भक्तपुरका सदस्य राजु पुरीले जानकारी दिए ।

राँके जुलुस प्रदर्शनमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापासहितका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

यसअघि, सोमबार दिउँसो भक्तपुरमै कांग्रेसका भ्रातृ संस्थाहरूले ओलीको असंवैधानिक कदमविरुद्ध प्रदर्शन र विरोध सभा गरेका थिए ।

सभालाई सम्बोधन गर्ने नेताहरूले कम्युनिस्टहरूको पतन शुरु भएको भन्दै अबको निर्वाचनमा जनताले कांग्रेसलाई साथ दिने बताए ।

प्रधानमन्त्री ओलीको घर भक्तपुरको बालकोटमा रहेको छ । भक्तपुर कांग्रेस र भ्रातृ संस्थाहरूले ओलीलाई सचेत गराउन बालकोटमा राँके जुलुस प्रदर्शन गरेको तरुण सदस्य पुरीले बताएका छन् ।

Published : Monday, 2021 February 1, 11:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया