वर्मामा सैनिकद्वारा नेतृ सू की पक्राउ

म्यानमार । सेनाले वर्मामा नेतृ आङ सान सू कीसहित प्रजातान्त्रिक नेताहरूलाई पक्राउ गरेको छ ।

म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ आङ सान सू कीलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले बताएका छन् ।

सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू कीलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्मा पर्याप्त हुने गरी सिट जितेको छ । सेनाले चुनावमा धाँधली भएको जनाएको छ ।

सोमबार हुन लागेको संसदको बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ ।

पार्टी प्रवक्ता म्यो न्यूनले रोयटर्स समाचार संस्थालाई फोनमार्फत् जानकारी दिँदै सू कीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै लगिएको बताएका छन् ।

‘म हाम्रा मानिसहरूलाई जथाभावी केही नगरियोस् भन्न चाहन्छु र उनीहरूले कानून अनुसार गरून् भन्ने चाहन्छु’, उनले भने । उनले आफूलाई पनि पक्राउ गरिने ठानेको बताए ।

बीबीसीका दक्षिण पूर्व एशिया संवाददाता जोनाथन हेडले राजधानी नेपिदअ र मुख्य सहर यानगुनका गल्लीहरूमा सेनाहरू देखिएको बताएका छन् । बर्माको राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।

सेनाले थुप्रै ठाउँहरूमा मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन् ।

सेनाले ‘कू’ गर्न खोजेको भन्ने चासोहरू व्यक्त भएपछि गत शनिवार त्यहाँको सशस्त्र फौजले सेनाले संविधानको पालना गर्ने वाचा गरेको थियो ।

Published : Monday, 2021 February 1, 7:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया