माघ १९ को आन्दोलनमा सहभागी हुन कांग्रेसका भ्रातृ संस्थाहरूको अपील

काठमाडौं । नेपाली कांग्रेसले माघ १९ गतेको विरोध प्रदर्शनमा सहभागी हुन अपील गरेको छ ।

आइतबार अपील जारी गरेर भोलि माघ १९ गते नेपाली कांग्रेसका १३ वटै भ्रातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ हुने प्रदर्शनमा सहभागी हुन अनुरोध गरिएको छ ।

‘संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं’, भ्रातृ संस्थाका प्रमुखहरूले भनेका छन् ।

अपील गर्नेमा नेपाल महिला संघकी सभापति उमा रेग्मी, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, नेपाल प्रजातन्त्र सेनानी संघका सभापति टंकप्रसाद शर्मा कँडेल, नेपाल किसान संघका सभापति भानुभक्त सिग्देल, नेपाल दलित संघका सभापति मीनबहादुर विश्वकर्मा, नेपाल भूतपूर्व सैनिक संघका सभापति कर्णेल धनबहादुर मास्की राना, नेपाल आदिवासी जनजाति संघका सभापति ईन्द्रबहादुर गुरुङ्ग, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका सभापति भोजराज श्रेष्ठ, नेपाल मुस्लिम संघका सभापति अब्दुल सतार, नेपाल तामाङ्ग संघका सभापति कवेलबहादुर लामा, नेपाल राष्ट्रिय मगर संघका सभापति ओम थापा मगर र नेपाल ठाकुर समाजका सभापति अनिरुद्ध्रप्रसाद ठाकुर रहेका छन् ।

Published : Sunday, 2021 January 31, 1:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया