‘कम्युनिस्ट पावरवाला’ जगातीका डीएसपी थापालाई कारबाही

काठमाडौं । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेश थापासहित तीन प्रहरी अधिकृत कारबाहीमा परेका छन् ।

भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनापछि रकम असुलेको आरोपमा डीएसपी थापासहित प्रहरी निरीक्षक सानु तामाङ र प्रहरी नायब निरीक्षक (सई) विक्रम सेनलाई प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही गरेको हो ।

प्रहरी निरीक्षक र सईलाई जगाती वृत्तबाट हटाएर एक वर्षसम्म बढुवा रोक्का गरिएको छ । डीएसपी थापालाई भने प्रहरी प्रधान कार्यलयमा रेकर्ड रहनेगरी नसियत दिइएको स्रोतले जनाएकाे छ ।

सवारी दुर्घटनामा डीएसपी थापाकै भूमिकाको कारण प्रहरी निरीक्षक र सईले समेत कारबाही भोग्नु परेको प्रहरी स्रोतको भनाइ छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका केही नेतासँग निकट मानिएका डीएसपी थापा पहुँचकै भरमा वृत्त प्रमुखका रूपमा जगाती पुगेका थिए ।

सोही कारण डीएसपी थापालाई प्रहरी प्रधान कार्यालयले प्रमुखबाट हटाउन सकेको छैन । थापा संगठनभित्र विवादित छन् ।

डीएसपी थापा यसअघि इलाका प्रहरी कार्यालय लहानमा हुँदा पनि राम्रो काम गर्न नसकेको भन्दै सरुवाको अवधि पूरा हुनुपूर्व नै तानिएका थिए ।

जगाती आउनुअघि उनी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत थिए । भक्तपुरको सवारी दुर्घटनामा एक पक्षसँग मिलेर अर्को पक्षसँग चर्को रकम असुलेको आरोप अहिले डीएसपी थापामाथि लागेको छ ।

भक्तपुर प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तारा थापाले सवारी दुर्घटनाको विषयमा परिसरमा कुनै उजुरी नआएको बताएकी छिन् । उनले प्रहरी प्रधान कार्यालयमा परेको उजुरीको आधारमा छानबिन भएको हुनुपर्ने बताएकी छिन् ।

Published : Saturday, 2021 January 30, 10:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया