बंगलाचुलीमा चारदिनदेखि कार्यकर्ताको घरमा बसेर कांग्रेसको संगठन बनाउँदै खनाल, दुर्गमका जनताले अभिभावक पाए

घोराही । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले संगठन सुदृढीकरणमा आफूलाई केन्द्रित बनाएका छन् ।

दाङको क्षेत्र नं. २ मा कांग्रेसको कमजोर संगठनहरू भएका गाउँहरूमा युवा नेता खनालले भेटघाटहरूलाई तीब्र बनाएका हुन् । कांग्रेसको संगठन विभागका केन्द्रीय सदस्य समेत रहेका खनालले कम्युनिस्टहरू दुुईतिहाइ बहुमतका साथ सत्तामा जाँदा समेत काम गर्न नसकेर संसद विघटन गरेको भन्दै कांग्रेसलाई जिताउन अपील गरेका छन् ।

‘कम्युनिस्टहरू जनताको सेवा गर्नेभन्दा पनि आफूहरूभित्रै व्यक्तिगत पद प्राप्तिका लागि झगडा गरेर संसद विघटन गरेका छन्’, खनालले भने, ‘अब कांग्रेसलाई नै जनताले साथ दिनुपर्छ । अबको निर्वाचनमा कांग्रेसनै अगाडि आउनुपर्छ । निर्वाचन जित्नुपर्छ ।’

बंगलाचुलीका नेता कार्यकर्ताले कांग्रेसले अभिभावकत्व लिनुपर्ने बताएका छन् । उनीहरूले बंगलाचुली गाउँपालिका भौगोलिक रुपमा दुर्गम भएका कारण कांग्रेसका नेताहरू नआएको भन्दै नेता खनालसँग गुनासो गरेका थिए । जवाफमा खनालले कांग्रेस सधैँ बंगलाचुलीका जनताको साथमा रहने बताएका छन् ।

बंगलाचुली गाउँपालिकाका गाउँहरूमा चार दिनदेखि नेता कार्यकर्ताहरूकै घरमा बसेर कांग्रेसको संगठन निर्माणको कामहरू गरेका छन् । कांग्रेसका युवा नेता गणेश बेल्बासेले बंगलाचुली गाउँपालिकाको गाउँ र टोलमा रहेर नेता खनालले कम्युनिस्टहरूको असक्षमताका विषयमा जानकारी गराएको बताए ।

पूर्वसांसद खनालसँगै महाधिवेशन प्रतिनिधि तथा दाङ कांग्रेसका जिल्ला सदस्य भेषराज खत्री, नेपाली कांग्रेस बंगलाचुली गाउँपालिकाका सभापति जागेश्वर अधिकारी, गणेश बेल्बासेसहितका नेताहरू रहेका छन् ।

नेता खनालले बंगलाचुली गाउँपालिका– ४ पुरुङग, फाटा, जुम्लेपानी, दांगमाँग, अमारे, सिउडे, रिभान लगायतका गाउँका स्थानीय नेता कार्यकर्ताहरूसँग भेटघाट तथा संगठन विस्तारको काम गरेका छन् ।

नेता खनालले नेकपाका धेरै स्थानीय कार्यकर्ताहरूलाई कांग्रेसमा प्रवेश समेत गराएका छन् । कांग्रेसमा प्रवेश गर्न पाउँदा खुसी लागेको बंगलाचुलीका कार्यकर्ताले बताएका छन् ।

बंगलाचुली गाउँपालिका जनताले तत्कालीन एमाले र माओवादीका उम्मेदवारहरूलाई जिताएका थिए । जिताएर पठाएका नेताहरूले फर्केर पनि नहेरेपछि चित्त दुखाएका छन् । यो क्षेत्रबाट प्रतिनिधि सभामा कृष्णबहादुर महरा र प्रदेशमा शंकर पोखरेलले जितेका थिए ।

सभामुख बनेका महरा रोशनी शाही काण्डमा परेर कारागार चलान हुनुपरेको थियो । लुम्विनी प्रदेशको मुख्यमन्त्री बनेका पोखरेल नेकपा फुटाउने कार्यमा संलग्न रहेको आरोप छ ।

Published : Thursday, 2021 January 28, 3:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया