‘मुख्यालय’बाट देशभरिका तरुणहरूलाई निर्देशन गएपछि कम्युनिस्ट सरकारलाई तनाब

काठमाडौं । नेपाल तरुण दलले माघ १९ गतेको कार्यक्रमलाई सशक्त र प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

तरुण अध्यक्ष जितजंग बस्नेतले सबै जिल्ला कार्यसमितिहरूलाई परिपत्र जारी गरेर प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध आन्दोलनमा सक्रिय सहभागिता जनाउन निर्देशन दिएका हुन् ।

आन्दोलन सशक्त बनाउन तरुणहरूलाई तरुणको ‘मुख्यालय’बाट निर्देशन गएपछि ओली र उनको कम्युनिस्ट सरकारलाई तनाब बढाइदिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता भएको तरुण अध्यक्ष बस्नेतले बताएका छन् ।

ओली सरकारको कुशासनविरुद्धमा कांग्रेसको केन्द्रीय समितिको निर्देशानुसार माघ १९ गते सोमबार सबै भातृ संस्थाहरूले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभा आयोजना गर्ने निर्णय भएको छ ।

अध्यक्ष बस्नेतले सबै जिल्ला कार्यसमितिलाई कांग्रेसको जिल्ला समितिसंग समन्वय गरी जिल्ला पार्टी कार्यालयमै सबै जिल्लास्तरीय भ्रातृ संस्थाहरूको तुरुन्त बैठक राखी माघ १९ गते गरिने विरोध कार्यक्रम तय गरी संयुक्त रुपमा विरोध कार्यक्रम गर्न परिपत्र गरिएको जनाएका छन् ।

माघ १६ गते शहीद दिवस भएको भन्दै बस्नेतले शहीदहरूको सम्मानमा कोभिड–१९ सम्बन्धि जनचेतना अभिवृद्धि हुने विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमहरू गरी मनाउन पनि तरुण अध्यक्ष बस्नेतले बताएका छन् ।

Published : Thursday, 2021 January 28, 1:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया