मुख्यमन्त्री राईको ‘किल्ला’ टेम्केमैयुङमा ठूलो धक्का, कांग्रेसले खुट्टा हाल्यो

टेम्केमैयुङ । भोजपुरमा नेपाल कम्युनिस्ट पार्टी नेकपासहित विभिन्न दल परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

टेम्केमैयुङ गाउँपालिका– २ मा कांग्रेसले मंगलबार छिनामखुमा आयोजित विरोध कार्यक्रममा १८ जना कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई कांग्रेसका नेताहरूले स्वागत गरेको नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चपागाइँले जानकारी दिएका छन् ।

कांग्रेस प्रवेश गर्नेमा गणेशबहादुर बस्नेत, विष्णु पोखरेल, मनराज कठेत, लक्ष्मीदेवी बस्नेत, मनकुमारी बुढाथोकी, धनकुमारी पोखरेल, विमला पोखरेल, गुना बस्नेत, रत्नप्रसाद पोखरेल, पृथबहादुर बस्नेत, ईश्वर राई, निराजन राई, कमलजंग राईलगायतका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको उपाध्यक्ष चापागाइँले बताए ।

कांग्रेस नेता एवम् तरुण उपाध्यक्ष चापागाइँले कांग्रेसलाई भोजपुरबाट जिताउन अपील गरेका छन् । कम्युनिस्टहरूले पाँच वर्षका लागि दुईतिहाइको बहुमत पाउँदा पनि तीन वर्षमा नै संसद विघटन गरेर असक्षमता देखाएको उनले बताए ।

नेता चपागाइँले कम्युनिस्टहरूलाई विश्वास गर्न नसकिनेभन्दै भोजपुरको विकासका लागि कांग्रेसनै बिकल्प रहेको बताए ।

नवप्रवेशीहरूले नेकपाका नेता समेत रहेका प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई र विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा समेत भोजपुरको विकास हुन नसकेको भन्दै कम्युनिस्टहरूको भण्डाफोर गरे । उनीहरूले कम्युनिस्टहरूको झुठ र भ्रममा नपर्न सबैलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा धारणा राख्ने कांग्रेस नेताहरूले कम्युनिस्टहरूविरुद्ध गाउँबाट जनतालाई जारुक बनाएर पार्टीको संगठन गर्नुपर्ने बताएका छन् । उनीहरूले कांग्रेसले मात्रै भोजपुरको विकास गर्ने भन्दै कम्युनिस्टहरूका कारण जिल्लाको अवस्था दैनीय बनेको बताए ।

वडा सभापति रमेश राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा भोजपुर कांग्रेसका सभापति नन्दमणि राई, पूर्वसभापति लालकृष्ण थापा, नेता उमेशजंग रायमाझी, युवा नेता तथा नेपाल तरुण दल केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँ, नेता विनोद वान्तवा, नेता हेमन्त मुकारुङ, नेपाल तरुण दल भोजपुरका जिल्ला अध्यक्ष सरोज बस्नेत, नेता रुद्र किराँती, तरुण जिल्लाका सचिव ज्योति पौडेल, महिला नेतृ निर्मला खड्कालगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2021 January 26, 7:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया