कांग्रेस निकट खेलकुद संघको विवाद मिल्यो, राईलाई ५० हजार सहयोग

ललितपुर । नेपाली कांग्रेस निकटको लोकतान्त्रिक खेलकुद संघको विवाद लामो समयपछि अन्त्य भएको छ ।

संघ विवादका कारण खेलकुद गतिविधिहरू शून्य अवस्थामा रहेका थिए । विवादले गर्दा अध्यक्ष देवेन्द्र शेरचर र सचिव सुबोध प्रधानबीच बोबचालनै बन्द अबस्थामा थियो ।

नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले संघको विवाद समाधान गरिदिएको विभागका सचिव मीनकृष्ण महर्जनले जानकारी दिएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विभागका प्रमुख बस्नेतले संघका अध्यक्ष शेरचर र सचिव प्रधान लगायतका कार्यसमितिलाई पार्टी कार्यालय सानेपा बोलाएर विवाद समाधन गरिदिएका हुन् ।

विभागका प्रमुख बस्नेतले मनमुटाव र विवाद समाधान गरेर अगाडि नबढे संघनै विघटनको चेतावनी दिएपछि सहमति भएको महर्जनले बताए ।

खेलकुद विभागको निर्देशन र मध्यस्ततामा संघका अध्यक्ष शेरचर र सचिव प्रधानसहितको कार्यसमिति एक ढिक्का भएर गतिविधि गर्न तयार भएको छ ।

संघभित्र विगत ६ वर्षदेखि विवाद थियो । विवादका कारण खेलकुदका गतिविधि हुन सकेका थिएनन् ।

खेलकुद विभागले शीर्ष नेताहरूको सम्झनामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने तयारी गरेको छ । विभागको निर्देशानुसार संघलाई प्रदेशस्तरीय खेलकुद प्रतियोगिता गर्न विभागका प्रमुख बस्नेतले निर्देशन समेत दिएका छन् ।

विभागका सचिव महर्जनले राष्ट्रिय खेलकुद परिषदमा कम्युनिस्टहरूले मनपरितन्त्र चलाएको भन्दै लोकतन्त्रप्रति आस्था राख्ने खेलाडी, कर्मचारी र शुभेच्छुकहरूलाई संरक्षण गर्नुपर्ने बताए ।

परिषदमा कांग्रेसप्रति आस्था राखेकै कारण कम्युनिस्टहरूले अत्याचार गरेको गुनासो आएको भन्दै सचिव महर्जनले संघले विशेष भूमिका खेल्न निर्देशन दिएका छन् । उनले परिषदभित्रको अनियमिततामाथि खबरदारी गर्नुपर्ने बताएका छन् ।

महर्जनको भनाई सुनेपछि बिभाग प्रमुख बस्नेतले खेलकुद परिषदमा भइरहेको अनैतिक गतिविधि विरुद्ध कांग्रेसको केन्द्रीय कार्यसमितिमै कुरा राखेर उचित निर्णय लिने आश्वासन दिएका छन् ।

यसैबीच, विभाग र संघले संयुक्त रुपमा रकम संकलन गरि खेलकुद परिषदमा कार्यरत कराते प्रशिक्षक उत्तम राईकी धर्मपत्नीको उपचारका लागि हस्तान्तरण गरिएको छ ।

विभागका प्रमुख बस्नेतमार्फत रु. ५० हजार नगद राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघका महासचिव फरेन्द्र पौडेललाई हस्तान्तरण गरिएको महर्जनले बताए । पौडेलले सो रकम राईलाई उपलब्ध गराउनेछन् ।

Published : Monday, 2021 January 25, 11:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया