‘सिधा कुरा जनतासँग’ लफडामा, रविलाई तनाब

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले सञ्चालन गर्दै आएको ‘सिधा कुरा जनतासँग’को कपिराइटलाई लिएर लफडा भएको छ ।

लामिछानेले न्युज ट्वान्टीफोर टेलिभजिन बिहीबारदेखि छाडेका छन् । लामिछानेले टेलिभिजन छाडेसँग नयाँ स्वरुप र नयाँ टेलिभिजनबाट परिमार्जनसहित कार्यक्रम देखाउने बताएका छन् ।

न्युज ट्वान्टीफोर टेलिभिजनलाई लामिछानेले बिहीबारदेखि छाडेदेखिनै कार्यक्रमलाई लिएर विभिन्न खालका अड्कलबाजी भइरहेका बेला टेलिभिजनले कपिराइटमा दाबी गरेर कार्यक्रम सञ्चालन गर्ने तयारी गरेपछि विवाद बाहिर आएको छ । लामिछानेले ‘सिधा कुरा जनतासँग’को टिमलाई पनि सँगै लिएर गएका छन् ।

न्युज ट्वान्टीफोरका सञ्चालकहरूले कार्यक्रम नियमित रुपमा प्रशारण हुने जनाएपछि विवाद खडा भएको हो ।

यो कार्यक्रम आइतबार, मंगलबार र बिहीबार राति पौने ९ बजे प्रसारण हुँदै आएको थियो । स्रोतका अनुसार ‘सिधा कुरा जनतासँग’को कानूनी अधिकार सञ्चारकर्मी लामिछानेसँग छ ।

बिहीबार टेलिभिजन छाडेका लामिछानेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै नयाँ ठाउँबाट, नयाँ रुपरंग र परिमार्जनसहित ‘सिधा कुरा जनतासँग’लाई छिट्टै ल्याइने बताएका थिए ।

नेपाल टेलिभिजनमा लामिछानेले ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ चलाउँदै आएका थिए । केपी ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला लामिछानेले ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ चलाएका थिए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि लामिछानेसँग सो कार्यक्रम खोसेर सञ्चारकर्मी बासुदेव शर्मा ‘वविन’लाई चलाउन दिइएको थियो । त्यसपछि लामिछानेले न्युज ट्वान्टीफोर टिभीमा कार्यक्रम किनेर ‘सिधा कुरा जनतासँग’ चलाउन थालेका थिए ।

कानूनी रुपमा लामिछाने अगाडि देखिएका छन् । न्युज ट्वान्टीफोर टेलिभिजनले कपीराइटमा दाबी गर्‍यो भने लामिछानेलाई केही समय झञ्झट हुने चर्चा सामाजिक सञ्जालमा भएको छ ।

‘सिधा कुरा जनतासँग’ निकै लोकप्रिय मानिन्छ । यो कार्यक्रम युट्युबमा पनि रुचाइएको कार्यक्रममा पर्छ ।

Published : Sunday, 2021 January 24, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया