बर्दियामा वामदेवलाई नेता कार्यकर्ताले छाडे, डा.दहित र तिमिल्सिनाद्वारा कांग्रेसमा स्वागत

मोहनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा.गोपाल दहितले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले मुलुकलाई अधिनायकवादतिर लैजान खोजेको आरोप लगाएका छन् ।

ठाकुरबाबा नगरपालिका– ७ मोहनपुरमा आइतबार कांग्रेसद्वारा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै दहितले कम्युनिस्टहरूको अधिनायकवादलाई कांग्रेसले कदापि स्वीकार नगर्ने बताए । उनले संसद विघटनका विषयमा सर्वोच्च अदालतले दिने फैसलालाई कांग्रेसले स्वीकार गर्ने बताए ।

नेपाली कांग्रेस केन्द्रीय संगठन विभागका सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाले कम्युनिस्टहरू देशबाट असफल हुँदै गएको बताए । उनले झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि कम्युनिस्टहरूले पूरा अवधि सरकार चलाउन नसकेको बताए ।

कार्यक्रममा नेताहरू डा.गोपाल दहित, जन्मजय तिमिल्सिना, नख्खु चौधरी, जनक चौधरी, पदमबहादुर खड्का, दरबारी चौधरी, मेघबहादुर गुरुङ, घनश्याम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थानीय लोकप्रिय नेता कान्छा थारुको नेतृत्वमा १ सय ३१ जना कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई प्रमुख अथिति डा.गोपाल दहित र विशिष्ट अतिथि जन्मजय तिमिल्सिनासहितका नेताहरूले स्वागत गरेका थिए ।

नेकपाका नेता वामदेव गौतमको गृहजिल्ला बर्दियामा नेकपा छाडेर नेता कार्यकर्ताहरू धमाधम कांग्रेसमा प्रवेश गर्दै आएका छन् ।

Published : Sunday, 2021 January 24, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया