बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।

नेपाल सरकार मन्त्रिस्तरको पुस २१ गतेको निर्णयानुसार नेपाल प्रहरी सर्वोत्कृष्ट भएको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्छ्यौट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट तुल्याउने कार्यमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृतहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार ८ हजार रुपियाँ नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेका छन् ।

पुरस्कृत हुने प्रहरी अधिकृतहरूमा प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदार, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी सहायक निरीक्षक बलबहादुर बस्नेत रहेका छन् ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पुरस्कार तथा प्रशंसापत्र वितरण गर्दै बेरुजु फर्छ्यौटमा लगन र मेहनत साथ काम गर्ने प्रहरी कर्मचारीहरूप्रति आभार व्यक्त गरेका छन् ।

पूर्व प्रहरी महानिरीक्षकहरू सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीको समेत फर्छ्यौटमा ठूलो योगदान रहेको महानिरीक्षक थापाले बताएका छन् ।

Published : Sunday, 2021 January 24, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया