कम्युनिस्ट अधिनायकवादविरुद्ध लड्ने बेला आयो, कार्यकर्ताहरू तयारी अवस्थामा छौँः चापागाइँ

षडानन्द । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि कम्युनिस्टहरूले संसद विघटन गरेर आफ्नो असक्षमता प्रदर्शन गरेको बताएका छन् ।

भोजपुर जिल्लाको षडानन्द नगरपालिका– ८ मा कांग्रेसले आइतबार आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै चापागाइँले कम्युनिस्टहरूले देश र जनतालाई दुःख दिने गतिविधि गरेकाले कांग्रेसको काँधमा चुनौती थपितएको बताए । उनले गाउँदेखिनै कम्युनिस्टहरूलाई खबरदारी गर्नुपर्ने बताएका छन् ।

‘पार्टीका वाड तहका सबै पदाधिकारीलाई ओलीको असंवैधानिक कदमको विरोध र नेकपाको भ्रष्टाचार लगायतका गतिविधिका विषयमा टोलटोलमा विरोध गर्दै संगठन विस्तारमा लाग्नुपर्छ’, चापागाइँले भने, ‘कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा हामी आफैले गर्नुपर्छ । कम्युनिस्टहरू संविधान मासेर अधिनायकवाद ल्याउन चाहन्छन् ।’

नेपाली कांग्रेस भोजपुरका जिल्ला सदस्य देवी श्रेष्ठले गाउँका जनता कम्युनिस्टहरूको गतिविधिबाट दिक्क भएको बताए । उनले कम्युनिस्टहरूसँग भिड्नका लागि आफूहरू जुनसुकै समयमा तयारी अवस्थामा रहको बताएका छन् ।

जिल्ला सदस्य भीम तामाङले कम्युनिस्टहरूको झुठको खेती जनताले बुझीसकेको बताए । ‘जनतालाई झुक्काउन कम्युनिस्टहरू धेरै अगाडि छन् । जनतालाई भ्रममा पार्ने उनीहरूको वर्गनै हो’, उनले भने, ‘अबको निर्वाचनमा जनताले कम्युनिस्टलाई होइन कांग्रेसले मतदान गरेर जिताउँछन् ।’

नेपाल तरुण दल भोजपुरका उपाध्यक्ष किशोर राईले तरुणहरूले कम्युनिस्ट अधिनायकवादविरुद्ध सामना गर्न तयार रहेको बताए । उनले तरुणहरू पार्टीको निर्देशन पर्खेर बसेको बताए ।

नेपाल महिला संघकी क्षेत्रीय सभापति सीता श्रेष्ठले जिल्लाको विकासमा कम्युनिस्टहरूले काम गर्न नसकेको बताइन् । उनले भोजपुरको विकासका लागि कांग्रेसले जित्नैपर्ने समय आएको बताएकी छिन् ।

नेपाली कांग्रेस षडानन्द नगरपालिका– ८ का सभापति देवीबहादुर राईले गाउँमा कम्युनिस्टहरूसँग सर्वसाधारणहरू दिक्क भएको बताए । कम्युनिस्टहरू भ्रष्टाचार, लुटपाट, धम्की अबैध धन्दा लगायतका हर्कतमा लागेको सभापति राईको आरोप थियो ।

कांग्रेसका युवा नेता चापागाइँ एक हप्तादेखि आफ्नै गृहजिल्ला भोजपुरको षडानन्द नगरपालिकाका विभिन्न वडाहरूमा पार्टीका नेता कार्यकर्ताहरूलाई गोलबन्द गरेर प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक गतिविधिका विरुद्ध आवाज उठाउँदै आएका छन् ।

कांग्रेसको कार्यक्रममा गाउँका नेता कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको सभापति राईले बताएका छन् ।

Published : Sunday, 2021 January 24, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया