पद धरापमा परेका बेला कम्युनिस्ट मुख्यमन्त्रीको महँगो ठाउँमा बिहे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता समेत रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘राजषी’मा विवाह गरेका छन् ।

आइतबार काठमाडौंको गैह्रीधारा, नक्सालस्थित ‘एलिस’ नामक पार्टी प्यालेसमा कम्युनिस्ट मुख्यमन्त्री राईले ज्याङमु शेर्पासँग विवाह गरेका हुन् । मुख्यमन्त्री राईले झण्डै ५० वर्षको उमेरमा विवाह गरेका छन् । उनकी दुलही झण्डै आधा उमेरले कान्छी रहेको चर्चा सामाजिक सञ्जालमा छ ।

एलिस पार्टी प्यालेस महँगो मानिन्छ । कम्युनिस्ट पार्टीका नेता भएर महँगा पार्टी प्यालेसमा विवाह गरेको भन्दै नेकपाका कार्यकर्ताहरूले कुराकाटेका छन् ।

मुख्यमन्त्री राईको विवाहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसहितका मन्त्री र नेता तथा आफन्तहरूको उपस्थिति रहेको विवाहमा सहभागी पाहुनाले जनाएका छन् ।

नेकपा सर्वहाराको पार्टी भनेर निर्वाचनका बेला आदर्शका ठूला कुरा गर्ने कम्युनिस्टहरूले महँगो ठाउँमा विवाह गर्नुलाई आश्चर्यका रुपमा हेरिएको छ ।

मुख्यमन्त्री राईले राष्ट्रपति विद्यादेवी भण्डा, प्रधानमन्त्री केपी ओलीसहितका भीभीआईपी र भीआईपीहरूलाई काठमाडौं र विराटनगरमा भव्य भोज दिने तयारी गरेका छन् । भीभीआईपी र भीआईपीलाई दिइने भोजमा सर्वसाधारणलाई प्रवेश दिइनेछैन ।

आन्तरिक विवादका कारण नेकपा पार्टी विभाजन भएका बेला प्रदेश १ का मुख्यमन्त्री राईले विवाह गरेका छन् । उनको मुख्यमन्त्री पद सुरक्षित छैन । कांग्रेसले साथ दिएन भने प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी निकट मानिने राईको मुख्यमन्त्री पद फुत्किनेछ ।

Published : Sunday, 2021 January 24, 3:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया