भोजपुरको विनास गर्नेहरू कम्युनिस्ट हुन्, कांग्रेसले हिसाब राखेको छः उत्तम चापागाइँ

षडानन्द । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले प्रधानमन्त्री केपी ओली र नेकपाको सनकका भरमा जनताको अधिकार समाप्त पर्ने षड्यन्त्र भएको बताएका छन् ।

गृहजिल्ला भोजपुरको षडानन्द नगरपालिका– ५ चिउरीबोटे नयाँ बजारमा शनिबार आयोजित कांग्रेसका कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता चापागाइँले जनताले बनाएको संविधानलाई समाप्त पारेर कम्युनिस्टहरूले अधिनायकवाद ल्याउन खोजेको बताए । उनले कम्युनिस्ट अधिनायकवादलाई कांग्रेसले कुनै पनि हालतमा ल्याउन नदिने चेतावनी दिएका छन् ।

भोजपुर जिल्लाको विकास नहुनुमा कम्युनिस्टहरूको ठूलो योगदान रहेको कांग्रेसका युवा नेता चापागाइँले बताएका छन् । ‘भोजपुरमा ३३ वर्षसम्म कम्युनिस्टहरू निर्वाचित भएर सत्तामा पुगे । ठूला पदमा गए’, उनले भने, ‘कम्युनिस्टहरूले भोजपुरको विकास गर्न कहिल्यै चाहेनन् । अब भोजपुरका जनताले कांग्रेसलाई जिताउनुपर्छ । विकास कांग्रेसले गर्छ ।’

भोजपुरलाई बरबाद पार्ने कम्युनिस्टहरूलाई जनताले दण्ड दिने बेला आएको बताएका छन् । जनताले देशको समृद्धि र विकास होला भनेर कम्युनिस्टका मीठा र भ्रामक कुरा सुनेर जनताले झण्डै दुईतिहाइको बहुमत दिँदा पनि सरकार चलाउन नसकेर तीन वर्षमै संसद विघटन गरेर कम्युनिस्टहरू झगडा गरेर बसेको कांग्रेसका युवा नेता चापागाइँले उल्लेख गरे । उनले संसद विघटन गर्ने र संविधान उल्लंघन गर्नेमा ओली, प्रचण्ड र माधव नेपालसहितका नेताहरूको बराबरको दोष रहेको बताएका छन् ।

कांग्रेस नेता एवम् षडानन्द नगरपालिकाका मेयर बिरवल राईले कांग्रेसले मात्रै जनताको समस्या बुझ्न सक्ने बताए । उनले कांग्रेसलाई अहिले पनि जनताले माया गरेर राखेको बताए ।

भोजपुर कांग्रेसका जिल्ला सदस्य भीम तामाङले कम्युनिस्टहरू झुठको खेती गर्न नम्बर एक रहेको बताएका छन् । ‘कांग्रेसनै जनताको पार्टी । कम्युनिस्ट भनेका झुठको खेती गर्नेहरूको झुण्ड हो’, सदस्य राईले भने, ‘देशको विकास कांग्रेसले गर्छ । जनताले कांग्रेसलाई नै जिताउँछन् ।’

कार्यक्रममा जिल्ला सदस्य राजकुमार तामाङ, वडाध्यक्ष रामेश्वर भण्डारी, उपाध्यक्ष किशोर राई, महिला संघकी क्षेत्रीय सभापति सीता श्रेष्ठ, वडा नं. ५ का सभापति लेखबहादुर जिसी ‘भोला’लगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2021 January 23, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया