नाता र दाता खोज्ने कम्युनिस्टहरूको पतन शुरु, जनताले कांग्रेसलाई जिताउँछन्ः खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टहरूका मीठा कुरा र भ्रममा जनता नपर्ने बताएका छन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–९ ज्यामिरेमा शनिबार आयोजित कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले विकास गर्न कांग्रेसले जित्नुपर्ने बताएका हुन् । ‘विकास गर्न कांग्रेसले जित्नुपर्छ’, उनले भने, ‘मीठा नारा गरेर जनतालाई झुक्काएर कम्युनिस्टहरू सत्तामा पुगे ।

कम्युनिस्टबाट जितेर गएकाहरूले नाता र दातालाई मात्रै माया गर्नुभयो । जनताको काम गर्नुभएन । हो त्यही कारण कम्युनिस्ट पार्टी विस्तारै पतन भएर गएको छ ।’

कांग्रेस नेता खतिवडाले कम्युनिस्टका नेताहरू खराब भएका कारण देश समस्यातिर गएको बताए ।

‘कम्युनिस्ट नेता खराब भएका कारणले जनताको समस्या हेरिएको छैन’, उनले भने, ‘जनताले विकास गर्छन् भनेर कम्युनिस्टलाई जिताए । कम्युनिस्टहरू नाता र दातालाई फलिफाप बनाउन लागे ।’

नेता खतिवडाले भनेका छन्, ‘गाउँमा कम्युनिस्टहरू फेरि मीठा कुरा गर्न आउनेछन् । चुवनाका बेला राँगा, खसी, रक्सी दिने प्रयास गर्नेछन् । जनताले कम्युनिस्टहरूलाई सबक सिकाउनुपर्छ ।’

खतिवडाले कांग्रेस भनेको आस्था र सिद्धान्तको राजनीति गर्ने पार्टी भएको बताए । उनले भने, ‘कांग्रेसले काम गर्छ । हामी आस्था र सिद्धान्तको राजनीति गर्छौं । कम्युनिस्टहरू पैसाले राजनीति गर्न थाले ।’

कांग्रेसले गाउँको विकास गरे वापत जनताको भोट पाउने उनले बताएका छन् । ‘अब जनताले कांग्रेसलाई जिताउनेछन्’, खतिवडाले भने, ‘कांग्रेसलाई अहिले पनि जनताले माया गर्छन् ।’

नेता खतिवडाले ओखलढुंगामा पार्टी परिवर्तन गरेर जाने भगौडाहरूबाट डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

‘हामीमा पनि सबै पार्टी चाहरिरहनेको कमी छैन् । भगौडाहरूबाट डराउनुपर्ने अवस्था छैन’, उनले भने, ‘नयाँ जोगीले खरानी घस्छ । भगौडाहरू पनि नयाँ जोगी हुन् ।’

कार्यक्रममा ओखलढुंगा कांग्रेसका सभापति प्रदीपकुमार सुनुवार, नेता बालकृष्ण दाहाललगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

कांग्रेसका युवा नेता खतिवडा गृहजिल्ला ओखलढुंगाका कार्यक्रमहरूमा सहभागी हुँदै आएका छन् ।

केही दिन अगाडि वैदेशिक रोजगार व्यवसायी हँसराज वाग्ले नेकपामा प्रवेश गरेका थिए ।

कांग्रेसलाई कहिल्यै सहयोग नगर्ने पार्टीका उम्मेदवारहरूलाई सधैँ अन्तरघात गरेर हराउन भूमिका खेल्दै आएका वाग्ले नेकपामा गएपछि ओखलढुंगा कांग्रेसलाई पिलो निचरेर फाले जस्तै भएको छ ।

Published : Saturday, 2021 January 23, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया