ट्याक्सी चलाउने कृष्णबहादुरमाथि परेको विपत्ति

काठमाडौं । कान्ति बाल अस्पताल बाहिर आफ्नी छोरीको सुस्वास्थ्यको कामना गर्दै बसिरहेका छन् एक दम्पत्ती । रक्तक्यान्सरबाट पीडित छोरी अस्पतालको आइसियूमा उपचाररत छिन् ।

पछिल्लो ९ दिनदेखि एक्ली छोरीको उपचारमा जुटेका यी श्रीमान् श्रीमतीको भोकप्यास सबै हराएको छ । केबल उनीहरूको कामना, प्राथना आफ्नी छोरीको स्वास्थ्यमा चाँडै सुधार होस् भन्नेछ ।

रामेछापको दोरम्बाकी १४ वर्षीया एलिशा थापा मगरका मातापिता निकै ठूलो तनावमा छन् । कृष्णबहादुर थापा मगर र दीपा थापा मगरकी एउटै छोरी हुन् एलिशा । उनलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ ।

ट्याक्सी चलाउने कृष्णबहादुरमाथि परेको विपत्ति

कृष्णबहादुर र दीपाकी एक्ली छोरी एलिशा परिवारको सम्पूर्ण खुशी हुन् । छोरीका लागि आमाबुवा पनि संघर्ष गरिरहेका छन् । कृष्णबहादुर ट्याक्सी चलाएरै भए पनि श्रीमती र छोरीलाई खुशी राख्ने प्रयासमा हुन्छन् ।

तर, एकाएक उनीहरूमाथि नसोचेको तनाव आइपरेको छ अहिले । सामान्य आर्थिक हैसियतका कृष्णबहादुर र दीपाले छोरीको उपचारमा आफूसँग भएको सम्पूर्ण रकम खर्च गरिसकेका छन् ।

दिउँसो प्रहरी कार्यालयमा कार्यालय सहयोगीको काम गर्ने कृष्णबहादुर रातको समयमा भाडाको ट्याक्सी चलाउँछन् । एलिशाको अवस्था दिन्दिनै जटिल बन्दै गएको छ ।

कान्ति बाल अस्पताल बाहिर श्रीमान् श्रीमती निकै तनावपूर्ण अवस्थामा भेटिन्छन् । ‘तनाव हुन्छ, चिन्ता हुन्छ नि, एक मात्रै सन्तान, पढाएर ठूलो मान्छे बनाउने कत्रो सोच छ, छोरीलाई रोगले सतायो, उनी अहिले अस्पतालको बेडमा पुगिन्,’ यति भनिसकेपछि कृष्णबहादुरले लामो स्वास फेरे ।

२०६२ साल साउन २१ गते जन्मिएकी एलिशालाई असोजमा क्यान्सरको लक्षण देखा परेको हो । दशैंको समयमा एलिशालाई सामान्य गलफुलो देखा परेको थियो ।

त्यसपछि ज्वरो आउने, टाउको दुख्ने हुँदै गयो । एलिशाको शरीर कमजोर र छाला सेतो हुँदै गयो। र, उनी दुब्लाउँदै गइन् । कृष्णबहादुरले एलिशालाई उपचारका लागि कान्ति बाल अस्पताल लगे ।

अस्पताल लगेपछि डाक्टरहरूले रगतमा इन्फेक्सन भएको हुन सक्ने आशंका गरेर रगत जाँच गर्न लगाए । एलिशाको रिर्पोट लिन कृष्णबहादुर एक हप्तापछि अस्पताल गए ।

एलिशाको घाँटीको घाउँ निको भएन । झन पाक्दै गएको थियो । त्यसैले एलिशाको रगत परीक्षणका लागि भारत पठाउन डाक्टरले सुझाव दिए ।

२८ हजार ८ सय रुपैयाँ खर्च गरेर भारतमा रगतको स्याम्पल पठाइयो । एलिशाको रगतको रिपोर्ट ११ दिनमा आयो । र, पछि एलिशालाई ब्लड क्यान्सर भएको थाहा भयो ।

एलिशालाई ए लेबलको ब्लड क्यासर भएको रहेछ । यो खबरले उनका अभिभावकलाई असह्य पीडा दियो । एलिशाको उमेर कम भएकाले समयमै उपचार पाएमा निको हुने डाक्टरको भनाईले उनीहरूलाई केही सान्त्वना मिल्यो ।

यसअघि पनि कान्ति बाल अस्पतालबाट केही बालबालिकाहरू क्यान्सर निको भएर घर फर्किएको केश पनि रहेको डाक्टरले बताएका कृष्णबहादुरले जानकारी दिए ।

एलिशाको उपचार खर्च १० लाख रुपैयाँ पुग्ने कृष्णबहादुरले बताएका छन् । अहिलेसम्म ३ लाख ५० रुपैयाँ खर्च भइसकेको छ । जसमा सरकारका तर्फबाट प्राप्त १ लाख रुपैयाँ बराबरको औषधि पनि सामेल छ ।

‘एक लाख रुपैयाँ मामासँग ऋण लिएर छोरीको उपचारमा खर्च गरेको छु, अरु पैसा जुटाउने कोसिसमा छु’, कृष्णबहादुरले भने ।

एलिशालाई कृष्णबहादुरले भक्तपुरस्थित साँगा बोर्डिङ स्कुलमा होस्टल राखेर पढाउँदै आएका छन् । उनी कक्षा ९ मा अध्ययन गर्छिन् । कृष्णबहादुर र दीपा वसन्तपुरमा भाडामा बस्छन् ।

कृष्णबहादुर न्यूरोड, विशालबजारस्थित प्रहरी कार्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्छन् । उनले त्यहाँबाट एक लाख २० हजार रुपैयाँ सहयोग प्राप्त गरेका छन् ।

प्रहरी कार्यालयमा कार्यरत कृष्णबहादुरलाई काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूबाट पनि आर्थिक सहयोग उठाएर दिने बताइएको छ ।

एलिशाको एक पटक किमो गरिएको छ। अढाई महिनामा उनलाई सेतो रगत ७ पाउण्ड र रातो रगत ९ पाउण्ड चढाइसकिएको छ।

कान्ति बाल अस्पतालको आइसियूको बेड नम्बार ३०५ मा एशिला उपचाररत छिन् । उनको उपचारका लागि राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १०९०१००००००४२१०४ मा पैसा जम्मा गरेर सहयोग गर्न सकिन्छ । कृष्णबहादुर थापा मगरको फोन नम्बर ९८४३११८००१ हो ।

Published : Friday, 2021 January 22, 5:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया