ओलीलाई तनाब हुने गगनका दुई सुझाव, बालुवाटारमा हलचल ल्याइदिए

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी ओलीको अहंकारका कारण मुलुक दुर्घटनातर्फ जान लागेको बताएका छन् ।

बिहीबार बुटवलमा कांग्रेसको विरोध सभालाई सम्बोधन गर्दै थापाले ओलीले जनतामाझ माफी माग्नुपर्ने बताए । ‘ओलीमा योग्यता र सपना होइन, अहंकार र खोक्रो विश्वास मात्र छ’, थापाले भनेका छन् ।

कांग्रेस नेता थापाले ओलीको प्रवृत्ति रातारात नआएको बताए । उनले भने, ‘ओलीको यो प्रवृत्ति तयार हुन वर्षौँ लागेको छ ।’

ओलीलाई यहाँ पुर्‍याउन नेकपाका दुवै गुट जिम्मेवार रहेको कांग्रेस नेता थापाले बताएका छन् ।
थापाले संविधान लेख्दा नशामा लट्ठ परेर नलेखेको बताए । उनले बुझेर लेखेकाले न्यायाधीशहरू संविधानप्रतिको कर्तव्यबोधले मात्रै प्रभावित हुनुपर्ने बताएका छन् ।

‘हामी संसद्को मान–सम्मान रहोस् भन्ने चाहन्छौँ’, उनले भने, ‘संविधानमा टेकेर अदालतले न्याय दिनेछ भन्ने हामीलाई विश्वास छ ।’

उनले बहुमतप्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे घर गएर बस्नुपर्ने, घर बस्न मन नलागे वन जान सुझाव दिएका छन् ।

हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा भंग गर्न नपाइने थापाले बताएका छन् ।

कांग्रेस नेता थापा संसद पुनःस्थापनाको पक्षमा छन् । उनले प्रतिनिधि सभा सनकको भरमा ओलीले विघटन गरेको आरोप लगाउँदै आएका छन् ।

Published : Friday, 2021 January 22, 8:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया