सभापति देउवाले दिए देशभरिका नेता कार्यकर्ताहरूलाई धन्यावाद

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिब्यक्त गरेको बताएका छन् ।

सभापति देउवाले बिहीबार बेलुका विज्ञप्ति जारी गरेर देशभरिका वडाहरूमा प्रधानमन्त्री ओली र कम्युनिस्ट सरकारविरुद्ध भएको प्रदर्शनमा सहभागीहरूप्रति आभार व्यक्त गरेका हुन् ।

‘केपी ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचारविरुद्ध आज देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिब्यक्त गरेको छ’, देउवाले भनेका छन् ।

‘नेपाली कांग्रेसको आयोजनामा देशभरका ६ हजार ७ सय ४३ वडाहरूमा आज भएको विरोध प्रदर्शनमा सहभागि हुनुभएका सबैलाई म बधाई तथा आभार व्यक्त गर्दछु’, उनले भनेका छन् ।

‘गाउँ, नगर वडा कार्यसमितिका साथीहरूसंगै प्रदर्शन सफल बनाउन निरन्तर खट्नु हुने पार्टीको सबै तहका आदरणीय साथीहरू, भातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरूमा बधाई ज्ञापन गर्दछु, देउवाले भनेका छन् ।

‘पुस १३, पुस २५ र माघ ३ को प्रदर्शनमाझैं आजको प्रदर्शनमा पनि सामाजिक सञ्जालमार्फत स्वतस्फूर्त रुपमा सकृय भूमिका निर्वाह गर्ने युवाहरूलाई विशेष बधाई ज्ञापन गर्दछु’, कांग्रेस सभापति देउवाले विज्ञप्तिमार्फत भनेका छन् ।

नेपाली कांग्रेसले बिहीबार ६ हजार ७ सय ४३ वडाहरूमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उल्लेख्य सहभागिता रहेको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिएका छन् ।

Published : Thursday, 2021 January 21, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया