ओली सरकारलाई सिंहदरबारबाट गलहत्याउँछौँः केन्द्रीय सदस्य गिरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले कम्युनिस्टहरू कहिल्यै पनि प्रजातान्त्रिक र लोकतान्त्रिक हुन नसक्ने बताएका छन् ।

काठमाडौंको नागार्जुना नगरपालिकाको वडा नं. ७ मा बिहीबार बिहान आयोजित कांग्रेसको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेर कम्युनिस्टहरू लोकतन्त्रलाई मान्दैनन् भन्ने सन्देश दिएको बताए । उनले कांग्रेसका लागि ओली सरकारलाई सिंहदरबारबाट गलहत्याएर जानेभन्दा अर्को बिकल्प नरहेको बताए ।

निर्वाचनका बेला कांग्रेसलाई घेराबन्दी गरेर एमाले र माओवादीले व्यक्ति स्वार्थका लागि अपवित्र गठबन्धन गरेर झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि संसद विघटन गरेको भन्दै गिरीले भने, ‘कम्युनिस्टहरू कहिल्यै पनि लोकतन्त्रलाई मान्दैनन् । निरंकुश र अधिनायकवादी हुन्छन् ।’

सरकारले प्रदेश १ र बागमती प्रदेशको प्रदेश सभालाई अनिश्चितकालीन समयका लागि स्थगित गरेको भन्दै केन्द्रीय सदस्य गिरीले कम्युनिस्टहरूलाई सत्ताबाट कांग्रेसले सत्ताच्युत गर्ने बताए ।

नेपालका कम्युनिस्टहरू चीन र उत्तर कोरियाका शासक हुन खोजेको भन्दै उनले असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेसले सशक्त रुपमा आन्दोलन गरेको बताए ।

कार्यक्रममा नागर्जुन नगरपालिका– ७ का वडा सभापति देबेन्द्र गिरी, महािधवेशन प्रतिनिधि रीता दवाडी, महासिमित सदस्य दामोदर गौतम लगायतले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गरेका थिए ।

विरोध कार्यक्रममा कांग्रेस स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Published : Thursday, 2021 January 21, 9:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया