बिहीबारको आन्दोलनमा सहभागी हुन कांग्रेसका युवा नेता तिमिल्सिनाको अपील

बर्दिया । नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले माघ ८ को कम्युनिस्ट सरकारको असंवैधानिक कदमविरुद्धको आन्दोलनमा सहभागी हुन अपील गरेका छन् ।

नेता तिमिल्सिनाले बुधबार अपील गर्दै प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक गतिविधिविरुद्ध सडकमा आउन अनुरोध गरेका हुन् । उनले बिहीबार हुने वडा–वडाको कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

‘केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेस यतिखेर देशव्यापी आन्दोलनमा होमिएको कुरा यहाँहरू सबैलाई सर्वविदितै छ’, उनले भने, ‘आफ्नो जन्मकालदेखि लोकतन्त्र र नागरिक अधिकारको रक्षाको लागि कांग्रेसले गरेको बलिदानीपूर्ण संघर्षको साक्षी स्वयं तपाईहरू नै हुनुहुन्छ ।’

‘जबजब देशमा जनताको अधिकारमाथि हस्तक्षेप हुन थाल्छ त्यतिबेला कांग्रेस आन्दोलनको मैदानमा ओर्लिने गर्छ’, युवा नेता तिमिल्सिनाले भने, ‘पछिल्लो समय पनि केपी ओली नेतृत्वको सरकारले संविधानको समेत खिल्ली उडाउँदै जननिर्वाचित संस्था संसद विघटन गर्‍यो ।’

‘केपी ओलीको त्यो सर्वसत्तावादी र तानाशाही कदमविरुद्धमा कांग्रेसले विभिन्न चरणमा चरणवद्ध आन्दोलनहरू गर्दै आएको छ’, उनले भनेका छन् ।

‘कांग्रेसको निर्णयमा भएका हरेक आन्दोलनहरूमा तपाईंहरूले देखाउनुभएको उत्साहपूर्ण सहभागिता र ऐक्यबद्धताप्रति म आभारी छु’, उनले भने, ‘पुस २५ गते, माघ ३ गते र माघ ८ गते भएको तहगत आन्दोलनको सिलसिलामा कांग्रेसको निर्णयानुसार भएका उत्साहपूर्ण सहभागिताप्रति म विशेष आभार व्यक्त गर्न चाहन्छु ।’

‘कांग्रेसद्वारा आयोजित आन्दोलनलाई सफल बनाउन अहोरात्र खट्ने र व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्ने कांग्रेसका केन्द्रीय तहदेखि, जिल्लाहत, क्षेत्र तह एवम् स्थानीय तहका विभिन्न तहमा नेतृत्व गर्ने र पार्टीमा आस्थावान तपाईं सम्पूर्ण अग्रज नेताहरू, दाजुभाई तथा दिदीबहिनीहरूमा म हार्दिक कृतज्ञता प्रकट गर्दछु ।’

‘कांग्रेसको यो आन्दोलन एउटा निष्कर्षमा नपुगुन्जेल आगामी दिनमा समेत पार्टीले गरेको निर्णयलाई शिरोधार्य गरि जिम्मेवारीपूर्वक आ–आफ्नो ठाउँबाट यहाँहरूले सक्रिय सहभागिता जनाउनुहनेछ भन्ने अपेक्षा गर्दछु’, कांग्रेसका युवा नेता तिमिल्सिनाले भनेका छन् ।

कांग्रेसले बिहीबार देशभरि सबै वडाहरूमा प्रतिनिधि सभा विघटन गर्ने ओलीको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गर्न लागेको छ ।

युवा नेता तिमिल्सिना आन्दोलनका लागि गृहजिल्ला बर्दियामा छन् । उनी पार्टीका नेता कार्यकर्ताहरूसँग भेटघाट र परामर्शहरू गर्दै आएका छन् ।

Published : Wednesday, 2021 January 20, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया