कम्युनिस्टका चर्चित सांसदका दाई दलबलसहित कांग्रेसमा प्रवेश, खतिवडाद्वारा स्वागत

लिखु । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका– २ हुलाक चौरमा मंगलबार आयोजित पार्टी प्रवेश तथा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा खतिवडाले नेकपाका कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेमा नेकपाबाट प्रदेशतर्फ क्षेत्र नं. २ सांसद मोहन खड्काका दाई चन्द्रबहादुर खड्कासहित ३७ जनाले पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेको खतिवडाको स्वकीय सचिव हुकुम राईले जानकारी दिएका छन् ।

कांग्रेस नेता खतिवडाले कम्युनिस्टहरूले बुथमा मुन्द्रेहरू राखेर जनतालाई डर त्रास देखाएर झुठको आधारमा जितेको बताए । ‘कम्युनिस्टले सबै बुथहरूमा मुन्द्रेहरू राखेर भोट दिने जनताहरूलाई आँखा देख्दैन भन्दै सबै आफैले भोट हालेर जितेका हुन्’, उनले भने, ‘जसरी जिते पनि जनताको मनभित्र कांग्रेस छ । जनताको मनबाट कांग्रेसलाई कसैले हराउन सक्दैन ।’

लोभलालच र पदका लागि कम्युनिस्टहरूले अपवित्र गठबन्धन गरेको कुरा संसद विघटनसँगै पुष्टि भएको कांग्रेस नेता खतिवडाले बताएका छन् ।

‘झण्डै दुईतिहाईको बहुमत पाएका कम्युनिस्टले दुई वर्ष पनि राम्रोसँग सरकार चलाउनसकेनन्’, उनले भने, ‘अहिले एकले अर्कोलाई भ्रष्टाचारी, हत्याराभन्दै उफ्री राखेका छन् ।’

कांग्रेस नेता खतिवडाले राणा र राजा फालेर देशलाई संविधान दिएको कांग्रेस मुलुक निर्माण गर्न र देशलाई सहि बाटोमा हिँडाउन तयार रहेको बताए । उनले कांग्रेसलाई जनताले साथ दिने बताएका छन् ।

जनताले मतदान गलत ठाउँमा गर्दा अहिले संसद विघटन भएको खतिवडाले बताएका छन् । ‘ओली र कम्युनिस्टहरूले सरकार चलाउन सकेनन् । जनताले निर्वाचित गरेको संसदको हत्या भएको छ’, कांग्रेसका युवा नेता खतिवडाले भनेका छन्, ‘कम्युनिस्टलाई संस्कार सिकाउँछौँ भनेका थियौँ । संसदीय व्यवस्था नमान्नेलाई संसदवादी बनायौँ । शिक्षक मार्नेलाई संसदमा लग्यौँ । ओलीजी र नेकपाले संसद विघटन गरेर जनतामाथि ठूलो घात गर्नुभएको छ ।’

नेपाली कांग्रेसका ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवारले कम्युनिस्टहरू जालझेल गर्न सिपालु भएको आरोप लगाए । कम्युनिस्टहरूले ढाँटेर, झेली गरेर जितेको बताए ।

सभापति सुनुवारले देशको विकासमा सबैभन्दा ठूलो बाधक कम्युनिस्टहरू भएको बताएका छन् । ‘कम्युनिस्टहरू सबै नक्कली हुन्’, उनले भने, ‘मैले मात्र भनेको होइन विश्वको शक्ति राष्ट्र चाइनाले समेत नेपालका कम्युनिस्टलाई नक्कली हुन् भनेर घोषणा गरेको छ ।’

सभापति सुनुवारले कम्युनिस्टहरूलाई गाउँबाटै लखेट्नुपर्नेभन्दै कम्युनिस्टलाई नलखेट्दासम्म देशको विकास नहुने उल्लेख गरे ।

नेकपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका चन्द्रबहादुर खड्काले नेकपामा धेरै मेहनत गरेको स्मरण गर्दै सत्तामा पुगेका नेताहरूको हबिगतिले कम्युनिस्टहरूको बदनाम भएको बताए ।

उनले झुठको खेती गर्ने कम्युनिस्टहरूको पछाडि लाग्न छाडेर आफू कांग्रेसमा प्रवेश गरेको बताएका छन् । कम्युनिस्टहरूले झण्डै दुईतिहाइ बहुमत पाउँदा पनि नेताहरूले जनताको भन्दा व्यक्ति र परिवारको पछाडि लागेको आरोप लगाए ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडा, सभापति सुनुवार, उप–सभापति तेजेन्द्र खनाल, युवा नेता अशोक कार्की, रामचन्द्र बोगटी, राजन सुवेदी र सर्वधन तामाङलगायतको उपस्थिति रहेको थियो ।

यसअघि पनि ओखलढुंगामा नेकपाका झण्डै तीन सय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । ओखलढुंगाबाट प्रतिनिधि सभामा नेकपाका यज्ञराज सुनुवारले जितेका थिए । प्रतिनिधि सभा विघटन भएपछि सुनुवार पुष्कमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहतिर लागेर सडकमा आन्दोलन गर्दै आएका छन् ।

यज्ञराज सुनुवार आन्दोलनमा लागेका बेला उनका नेता कार्यकर्ताहरू भने धमाधम कांग्रेसमा प्रवेश गर्दै आएका छन् ।

Published : Tuesday, 2021 January 19, 4:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया