नेपालमा पनि आइपुग्यो बेलायको नयाँ प्रजातिको कोरोना, तीन जनामा पुष्टि

काठमाडौं । नेपालमा पनि बेलायतमा फेला परेको नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबार विज्ञप्ति जारी गरेर तीन जनामा नयाँ प्रजातिको संक्रमण भेटिएको जानकारी दिएका छन् ।

बेलायतबाट आएका तीन जना व्यक्तिको नमूना परीक्षणका लागि पुस २७ गते हङकङको प्रयोगशालामा पठाइएको थियो ।

माघ ५ गते प्राप्त रिपोर्टमा तीन जनालाई नै बेलायतमा भेटिएको नयाँ प्रजातिको कोरोना संक्रमण भएको पुष्टि भएको प्रवक्ता डा.गौतमले बताएका छन् ।

बेलायतमा फेला परेको नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि हुनेमा २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुष रहेका छन् ।

‘ती जनामा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको पुष्टि भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रजाति बेलायतमा देखिएकै नयाा भेरियन्ट भएको पुष्टि भएको छ । तीन जनामध्ये २८ वर्षीय महिला र ३२ वर्षीय पुरुष हाल आरटी–पीसीआर नेगेटिभ भइसकेको छ । ६७ वर्षीय पुरुषमा पोजेटिभ नै रहेपनि लक्षण देखिएको छैन ।’

मन्त्रालयका प्रवक्ता डा.गौतमले नयाँ प्रजातिको कोराना देखिएकाले सावधानी अपनाउन, भिडमा नजाने, मास्क लगाउन, दुई मिटरको दुरी कायम राख्न, साबुन पानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न अनुरोध गरेका छन् ।

Published : Monday, 2021 January 18, 4:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया