ओलीको जिल्लामा महिला नेतृ प्रसाइँद्वारा आन्दोलनको कमाण्डिङ, राति सडकमा निस्किए कांग्रेसीहरू

दमक । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा नेपाली कांग्रेसकी युवा नेतृ एवम् केन्द्रीय सदस्य सरिता प्रसाइँले आन्दोलनको ‘कमाण्डिङ’ गरेकी छिन् ।

पूर्वमन्त्री समेत रहेकी कांग्रेस नेतृ प्रसाइँले शनिबार साँझ झापाको बुद्धशान्तिमा आयोजित राके जुलुसलाई सम्बोधन गरेकी छिन् । हातमा राको लिएर सडकमा आएका कांग्रेसका युवाहरूले प्रधानमन्त्री ओली र कम्युनिस्टहरूविरुद्ध नारावाजी गरेका छन् ।

राके जुलुसपछि आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस नेतृ प्रसाइँले प्रधानमन्त्री ओलीले सनकका भरमा जनताको संविधानलाई च्यातेर धुजाधुजा बनाएको आरोप लगाइन् । उनले संसदलाई असंवैधानिक तरिकाले भङ्ग गरिएको भन्दै विरोध गरेकी छिन् ।

संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको बताएकी कांग्रेस नेतृ प्रसाइँले अदालतले दिने फैसला कांग्रेसका लागि मान्य हुने उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्, ‘सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी फैसला दिँदा संविधानभित्र टेकेर दिनुपर्छ ।’

‘केपीजी तपाईलाई विश्वास गरेर देशभरिका जनताले मत दिए प्रधानमन्त्री बनाए’, कांग्रेस नेतृ प्रसाइँले भनेकी छिन्, ‘तपाईले जनताले बनाएको संविधान छियाछिया बनाउनुभयो । अब संविधानको रक्षा कांग्रेसले गर्छ ।’

संसद विघटन गरेर चुनाव घोषणा गरिए पनि ओलीले चुनाव नगराउने हो कि भनेर शंका लागेर दवाव सिर्जना गर्न कांग्रेस सडकमा आएको उनले बताएकी छिन् । उनले भनेकी छिन्, ‘चुनाव वैशाखमा भएन भने के हुने हो भनेर चिन्ता लागेर कांग्रेस सडकमा आएको छ ।’

उता, बिर्तामोडमा पनि कांग्रेसका नेता कार्यकर्ताले ओलीविरुद्ध राके जुलुस प्रदर्शन गरेका छन् । उनीहरूले पनि ओली र कम्युनिस्टविरुद्ध नारावाजी गरेका थिए ।

यसअघि, झापाकै अर्जुनधाराको कालिस्थानमा आयोजित विरोध सभालाई कांग्रेस नेतृ प्रसाइँले सम्बोधन गरेकी थिइन् । उनले संसद विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी भनेर टिप्पणी गरेकी थिइन् ।

विरोध प्रदर्शनमा कांग्रेसका सयौँ नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेसका कार्यकर्ताहरूले चर्का नारावाजी गरेका थिए ।

Published : Sunday, 2021 January 17, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया