अर्घाखाँचीमा नेकपाका २ सय २७ जना कांग्रेसमा प्रवेश, कम्युनिस्टहरूको ‘जरो’ उखेल्न शुरु

प्रेमनारायण आचार्य

सन्धिखर्क । नेपाली कांग्रेस अर्घाखाँचीले कम्युनिस्ट सरकारको असंबैधानिक कदमको बिरोधमा अर्घाखाँचीका ६ वटा स्थानीय तहमा प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रमाथि प्रहार गरेर संसद बिघटन गरेको भन्दै विरोधमा कांग्रेसले अर्घाखाँचीका ६ वटै स्थानीय तहमा प्रदर्शन गरेको हो ।

सन्धिखर्क नगरपालिकाको सन्धिखर्क, शीतगंगा नगरपालिकाको ठाडा, भूमिकास्थान नगरपालिकाको ठाडा, पाणिनी गाउँपाकिलाकाको दुर्गाफाट, मालारानी गाउँपालिकाको खनदह र छत्रदेव गाउँपालिकाको राशिपमा सरकारबिरुद्ध बिरोध प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ ।

स्थानीय तहमा भएका कार्यक्रमहरूमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताहरूले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शीतगंगा नगरपालिकामा ९७ जना, मालारानी गाउँपालिकाबाट ७७ जना, पाणिनी गाउँपालिकाबाट ३३ जना र भूमिकास्थान नगरपालिकाबाट २० जना गरी २ सय २७ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

बिरोध सभामा बोल्ने बक्ताहरुले लामो संर्घषपछि प्राप्त भएको लोकतन्त्रनै समाप्त पार्ने खेलमा ओली सरकार लागेको भन्दै विरोध गरेका छन् ।

कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध लोकतन्त्र बचाउन कांग्रेसले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको अर्घाखाँची कांग्रेसका नेताहरूले बताएका छन् ।

सन्धिखर्कमा भएको कार्यक्रमलाई पूर्व सभापति पिताम्वर शर्मा, जिल्ला सचिव छविलाल पौडेल, शीतगंगामा जिल्ला सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’, शीतगंगा नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद अधिकारी, मालारानीमा नेविसंघ महामन्त्री बलदेव तिमिल्सिना, लुम्विनी प्रदेश सांसद तथा सचेतक निर्मला क्षेत्री लगायतले सम्बोधन गरेका थिए ।

पाणिनीमा कांग्रेसका कोषाध्यक्ष कृष्णबहादुर ज्ञवाली, महासमिति सदस्य यादव घिमिरे, क्षेत्रीय सभापति तथा पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले सम्बोधन गरेका छन् ।

छत्रदेव गाउँपालिकामा भएको कार्यक्रममा जिल्ला उप–सभापति शान्ता भण्डारी, महाधिबेशन प्रतिनिधि तथा जिल्ला सदस्य कृष्णप्रसाद खनाल र भूमिकास्थान नगरपालिकामा भएको कार्यक्रममा जिल्ला सचिव विष्णुप्रसाद भुसाल लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

Published : Sunday, 2021 January 17, 12:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया