कम्युनिस्टहरूले देशलाई संकटमा लैजान खोजे, कांग्रेसले बचाउँछः गोविन्द भट्टराई

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले संसद पुनस्र्थापना पनि नहुने र चुनाव पनि नहुने अवस्थामा संकटको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस व्यास नगर समितिले दमौलीमा शनिबार गरेको विरोध सभालाई सम्बोधन गर्दै भट्टराईले कम्युनिस्टहरूका कारण देशमा संकटको अवस्था आउन सक्ने बताए । उनले देशलाई संकटको अवस्थामा जान नदिन कांग्रेसले भूमिका खेल्ने बताए ।

‘देशमा संवैधानिक संकट आउन लागेको छ’, उनले भने, ‘कांग्रेसले त्यो हुनबाट मुलुकलाई बचाउनुपर्छ ।’

नेता भट्टराईले कांग्रेसले विधि र पद्धति मान्ने भन्दै अरु कसैले के गर्‍यो भनेर बस्न नहुने बताएका छन् ।

उनले नेकपाको प्रचण्ड–नेपाल समूहले समेत चुनाव भएमा नजाने भनेर नभनेको अवस्थामा कांग्रेसले हतार गर्नु नहुने बताए ।

‘अहिलेको विवाद सर्वोच्चमा पुगेको छ’, भट्टराईले भने, ‘हामी सर्वोच्चको निर्णय मान्छौं भनेर बसेका छौं । अरु को कता लागे भनेर पछि लागेर साध्य हुँदैन ।’

कांग्रेसले प्रधानमन्त्रीको कदमको विरोध गरेर सडकमा गएको उनले बताएका छन् । उनले भावी दिनमा देश कता जान्छ भन्ने सोँचेर मात्र निर्णय गर्ने बताएका छन् ।

‘पहिले राजाको कदममा पनि देश खतरामा पुगेको निष्कर्षपछि कांग्रेसले अडान लिएको थियो’, उनले भने, ‘अहिले पनि हाम्रो बैठक जारी छ । उनले भने बैठकले आवश्यक निर्णय गर्छ ।’

नेपाली कांग्रेस व्यास नगर सभापति शान्तिरमण वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सचिव विश्व बाँस्तोला, महासमिति सदस्य मीरा जोशी, गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङ, नेविसंघका महामन्त्री दीपक भट्टराई, जिल्ला सदस्य अशोक श्रेष्ठ, राष्ट्रिय सभा सदस्य प्रकाश पन्त, नेता समुद्र गोदार, महिला संघ सभापति पवित्रा पौडेल, नेविसंघ पूर्व सह–महामन्त्री लक्ष्मीभक्त खनाल, दलित संघ व्यास नगर सभापति होम रसाइली, महिला संघ नगर सभापति इन्दिरा दरै, नगर सचिव मोहनकुमार श्रेष्ठ, चुडामणि दाहाल, सह–सचिव डम्बर अधिकारी, व्यास १ सभापति मणिजंग बस्नेत, व्यास ४ सचिव सरोज भण्डारीलगायत झण्डै एक दर्जन नेताले सम्बोधन गरेका थिए ।

Published : Saturday, 2021 January 16, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया