अधिनायकवादी कम्युनिस्टलाई गलहत्याएर फाल्नुपर्ने बेला आयोः नेता चौधरी

लमही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता योगेन्द्र चौधरीले कम्युनिस्ट अधिनायकवादको अन्त्यका लागि कांग्रेसले सडक आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

दाङको देउखुरीस्थित लमही नगरपालिकाको सत्वरियामा शनिबार आयोजित कांग्रेसको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले संविधान मिचेर संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र कम्युनिस्ट सरकारको भण्डाफोर गर्नुपर्ने बताए । उनले संविधानलाई च्यातेर देशमा कम्युनिस्ट अधिनायकवाद ल्याउने उदेश्यले ओलीले कदम चालेको आरोप समेत लगाएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य चौधरीले प्रधानमन्त्री ओलीलाई माफियाको नाइकेको संज्ञा दिएका छन् ।

‘प्रधानमन्त्रीजी दलाल, माफिया, अपराधीको नाइके बन्नुभयो’, उनले भने, ‘संविधानलाई च्यातेर मुलुकलाई अन्धकारमा लैजाने काम गर्नुभएको छ ।’ नेता चौधरीले ओलीलाई सनक चढेको भरमा संसद विघटन गर्ने कार्य संविधान विपरित रहेको बताए ।

जनताले बनाएको संविधानलाई भत्काउने ओलीको सपनालाई कांग्रेसले साकार हुन नदिने नेता चौधरीले चेतावनी दिएका छन् । ‘ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध सडकबाट प्रतिवाद गर्छौं’, उनले भने, ‘लोकतन्त्रलाई संस्थागत गर्छौं । अधिनायकवाद चाहने कम्युनिस्टहरूसँग बदला लिन्छौँ ।’

प्रधानमन्त्री ओलीको राष्ट्रवादको खोक्रो नारा जनताले बुझे उनले बताए । निरंकुश बन्न खोज्ने शासकहरूलाई जनताले सडकबाट गलहत्याएर फालेको इतिहास अध्यन गर्न कांग्रेस नेता चौधरीले कम्युनिस्टहरूलाई सुझाव दिएका छन् ।

उनले कम्युनिस्टहरूसँग मिलेर कांग्रेसले आन्दोलन गर्न नहुने पनि बताएका छन् । जनताको साथ कांग्रेसलाई रहेकाले आफै एक्लै मैदानमा उत्रिनुपर्ने केन्द्रीय सदस्य चौधरीको भनाइ थियो ।

कांग्रेस नेता जानकीलाल बस्नेतले कम्युनिस्टहरूको ज्यादतिविरुद्ध एक पटक फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए । उनले समयमा चुनाव भएन भने दवाव सिर्जना गर्नुपर्ने बताएका छन् ।

Published : Saturday, 2021 January 16, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया