दुईतिहाइ पाएको कम्युनिस्टले हात उठाउँदा कांग्रेस चुप लागेर बस्दैनः खतिवडा

खिजिदेम्बा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि सरकार चलाउन सकेन भनेर कम्युनिस्टहरू भाग्छन् भने कांग्रेसले डिलमा बसेर रमिता हेर्न नसक्ने बताएका छन् ।

गृहजिल्ला ओखलढुंगाको खिजिदेम्बामा शनिबार कांग्रेसले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले कम्युनिस्टहरूले सरकार चलाउन नसकेर हात उठाउँदा कांग्रेसले देशको शासन सत्ताको नेतृत्व लिन तयार रहेको बताए । उनले संसद पुनःस्थापना भएपनि, पुनःस्थापना नभएपनि कांग्रेस सर्वोच्च अदालतको फैसलालाई मान्ने बताए ।

‘दुईतिहाइ बहुमत पाउँदा पनि कम्युनिस्टहरूले सरकार चलाउनसक्दैनन् भने कांग्रेस डिलमा बसेर टुलुटुलु हेरेर बस्न सक्दैन’, उनले भने, ‘कांग्रेसले निर्वाचनमा भाग लिन्छ । १२० भन्दा धेरै सिट जितेर सरकार बनाउँछ ।’

खतिवडाले कांग्रेस चुनावबाट नभाग्ने बताएका छन् । संसद विघटनको विषय असंवैधानिक, अलोकतान्त्रिक रहेको बताएका उनले भने, ‘अदालतमा विचाराधीन विषयलाई प्रभावित बनाउने गरेर प्रधानमन्त्री होस् वा प्रतिपक्ष जो भए पनि अदालतलाई धम्काउने काम गर्नु हुँदैन ।’

कम्युनिस्ट नेताहरूको व्यक्तिगत स्वार्थका कारण संसद विघटन भएको बताएका कांग्रेस नेता खतिवडाले भने, ‘प्रचण्डलाई बुहारी मन्त्री बनाउन, माधव नेपालाई घनश्याम भुसाल र योगेश भट्टराईलाई मन्त्री बनाउन दुईतिहाइ चाहिएको हो ?’

उनले कम्युनिस्टहरूले झुठ बोलेर दिउँसै रात पार्ने गरेको बताए । खतिवडाले भने, ‘सूर्यले दिनमा उज्यालो बनाउने भएकोले दिनमै रात पार्ने कम्युनिस्टहरूलाई सूर्य चिन्ह दिनु हुँदैन ।’

‘२०७४ सालको निर्वाचनमा २ वटा कम्युनिष्ट पार्टी एक भएको जस्तो नाटक गरेर देश र जनतालाई ढाँटेका छन्’, उनले भनेका छन् ।

कम्युनिस्टहरूले प्रधानमन्त्री, मन्त्री भएर तलाव भत्ता खाने र भ्रष्टचार गर्ने बाहेक अरु कुनै काम नगरेको खतिवडाले आरोप लगाए ।

दुईतिहाइ बहुमत दिँदा केही गर्न नसकेको सरकारले फेरि दुईतिहाइको लागि चुनाव घोषणा गरेको भन्दै खतिवडाले कम्युनिस्टहरूले सरासर झुठको खेती गरेको बताए ।

नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवारले कांग्रेसले धेरै दुःख गरेर ल्याएको संघीयातालाई कुनै पनि हालतमा खेर जान नदिने बताए ।

कांग्रेस नेता खिलानाथ दाहाल प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर संविधान च्यात्ने काम गरेको बताए ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ओखालढुंगाका अध्यक्ष रोशन महतराले संविधान रक्षाको आन्दोलनमा आफूहरू पहिलो पंक्तिमा रहेर संघर्ष गर्ने बताएका छन् ।

विरोध कार्यक्रममा नेकपाका झण्डै तीन सय नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई कांग्रेस नेता खतिवडाले पार्टीमा स्वागत गरेका छन् । पार्टी सभापति सुनुवारले नवप्रवेशीहरूलाई कांग्रेसले जिम्मेवारी दिने बताए ।

Published : Saturday, 2021 January 16, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया