संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्रः जसपा नेता झा

तौलिहवा । जनता समाजवादी पार्टी (जसपा)का नेता केशव झाले केपी ओली नेतृत्वको सरकारद्वारा चालिएको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम भएको बताएका छन् ।

कपिलवस्तुको तौलिहवामा शनिवार आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता झाले ओली सरकारले गलत कदम नउठाओस् भन्नका लागि खबरदारी स्वरुप जसपा आन्दोलनमा उत्रिएको बताए । उनले संसद विघटन गरेर ओलीले संविधान उल्लंघन गरेको बताएका छन् ।

‘सर्वोच्च अदालत हामी सबैको एक मात्र आशा, भरोसा रहेको छ । लोकतन्त्र जोगाउने कार्यभार सर्वोच्चमा आएको छ’, उनले भनेका छन् ।

‘सर्वोच्च अदालतमा संविधानको मर्मअनुरुप नै संसद पुनःस्थापनको मुद्दामा फैसला गर्नेछ भन्ने हाम्रो विश्वास छ’, नेता झाले बताए ।

उनले भनेका छन्, ‘प्रधानमन्त्री संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा अग्रसर हुनुहुन्छ । यसलाई किमार्थ पनि हामी स्वीकार गर्न सक्दैनौ ।’

‘कोरोनाको महामारीका बेला खोपको जोहो गर्न छोडेर राजनीतिक अस्थिरता कायम गर्न खोज्नु भनेको प्रधानमन्त्रीको गैरजिम्मेवारीपनको पराकाष्ठा हो’, जसपाका नेता झाले बताएका छन् ।

मुलुकमा बढेको भ्रष्टाचारी, कालोबजारी, महँगी र कुशासनको सम्पूर्ण नैतिक जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने नेता झाले बताएका छन् ।

जसपा नेपाल सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमविरुद्ध देशको प्रमुख शहरहरूमा दोस्रो चरणको बिरोध प्रदर्शन र बिरोधसभा कार्यक्रम गर्दै आएको छ ।

जसपाले पुस २५, २७ र २९ गते यसअघि विभिन्न स्थानमा विशाल सभाहरू आयोजना गरिसकेको छ ।

Published : Saturday, 2021 January 16, 4:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया