कांग्रेसले भक्तपुरमा भेट्यो ‘छोटे’ केपी ओली, बुरुक–बुरुक नगर्न थापाको चेतावनी

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले ‘छोटे’ केपी ओलीलाई सहि ठाउँमा सुध्रिएर बस्न चेतावनी दिएका छन् ।

भक्तपुरको मध्यपुर थिमिमा शनिबार कांग्रेसले आयोजना गरेको विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै सभापति थापाले छोटो केपी ओलीहरू सुध्रिएनन् भने कसरी साइजमा ल्याउन त्यो भक्तपुर कांग्रेसले जानेको बताए ।

नेकपाका नेता महेश बस्नेतप्रति लक्षित गर्दै सभापति थापाले भने, ‘छोटे केपी ओलीले राज्य चल्दैन ।

छोटे ओलीलाई ठीक पार्न सिङ्गो भक्तपुर कांग्रेस पार्टी छ । छोटे केपी ओलीको राज सधैँ रहँदैन । बुरुक बुरुक उफ्रिन थालेका छन् । ठाउँमा बस ।’

सभापति थापाले भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को संरक्षणमा छोटे केपी ओलीहरू हनुमन्ते खोला फर्काउन लागेको भन्दै त्यसको हिसाब किताब कांग्रेसले राखेको बताएका छन् ।

उनले भने, ‘भक्तपुरका सीडीओ सापले चित्त दुखाउनु पर्दैन । प्रहरी पठाएर हनुमन्ते खोला फर्काउनेहरूलाई संरक्षण गर्न छाड्नुस् । होइन भने मैले हिसाब किताब राखेको छ । कांग्रेसले चुनावपछि हिसाब लिन्छ ।’

सभापति थापाले चुनावको लागि भक्तपुर कांग्रेस तयारी अवस्थामा रहेको बताए । उनले संसद पुनःस्थापना भएपनि भक्तपुर कांग्रेसले केन्द्रीय कार्यसमितिको निर्देशानुसार गर्ने बताए ।

उनले पार्टीको १४औँ महाधिवेशनको लागि पनि तयारी अवस्थामा रहेको बताएका छन् ।

सभापति थापाले भक्तपुरलाई केन्द्रले हेपेको हो कि भन्ने आफूलाई लागेको बताएका छन् । थापाले भक्तपुर कांग्रेस कमजोर नरहेको समेत बताए ।

थापाले १४औँ महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवार नबन्ने घोषणा समेत गरेका छन् ।

Published : Saturday, 2021 January 16, 3:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया