कांग्रेस नेता तिमिल्सिनाको प्रश्न, ‘कम्युनिस्टहरू कुन मुख लिएर भोट माग्न आउँछौँ ?’

गेरुवा । नेपाली कांग्रेसको केन्द्रीय संगठन विभागका सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाले ६५ प्रतिशत मत पाउँदा पनि ती वर्षमै संसद विघटन गर्ने कम्युनिस्टहरूले कुन मुख लिएर जनतामा भोट माग्न आउने हुन् भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधि सभा बिघटनको असंवैधानिक तथा अलोकतान्त्रिक कदमविरुद्ध शनिवार बर्दिया जिल्लाको गेरुवा गाउँपालिका– ३, शान्ति बजारमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता तिमिल्सिनाले निर्वाचनमा भोट माग्न आउने कम्युनिस्टहरूसँग जनताले हिसाब किताब माग्ने बताए ।

उनले निर्वाचनमा गरेको घोषणा पत्र कति पूरा भयो भनेर कम्युनिस्टहरूसँग जनताले जानकारी पनि लिने बताए ।

‘संसद विघटन गरेर जनताको बीचमा कम्युनिस्टहरू भोट माग्न आउँदैछन्’, नेपाल तरुण दलका पूर्वकार्यबाहक अध्यक्ष समेत रहेका तिमिल्सिनाले भने, ‘तिमी कम्युनिस्टहरू जनताको बीचमा कुन मुख लिएर आउने हो । जनताले जवाफ माग्नेछन् ।’

नेता तिमिल्सिनाले संसद विघटनको विषय सर्वोच्च अदालतमा रहेको भन्दै अदालतको फैसला कांग्रेसका लागि मान्य हुने बताएका छन् । उनले कम्युनिस्ट सर्वसत्तावादले संविधानको हरेक धारालाई कुल्छिएर संसद विघटन गरिएको आरोप लगाए । प्रधानमन्त्री ओलीले संविधान मिचेर सरकार आफूखुसी बनाएर चलाएको बताए ।

‘निर्वाचनमा बाँडिएको घोषणापत्रमा कम्युनिस्टले के भनेका थिए ?’, उनले भने, ‘अहिले तीन वर्षमा संसद विघटन गरेर कम्युनिस्टले जनतालाई फेरि भ्रममा पारेर भोट माग्ने तयारी गरेका छन् ।’

झुठको खेती गरेर निर्वाचनमा झण्डै दुईतिहाइ बहुमत पाएका कम्युनिस्टले फेरि जग्गा वितरण गर्ने बहानामा भ्रम फैलाउन लागेको बताएका छन् ।

कांग्रेसका युवा नेता तिमिल्सिनाले संसद पुनःस्थापना भयो भने कांग्रेस निर्वाचनमा जान तयार रहेको बताए । उनले वैशाखामा चुनाव गराउन कांग्रेसले गाउँदेखिनै सरकारलाई दवाव दिने बताएका छन् ।

कांग्रेसलाई समाप्त पार्न कम्युनिस्टहरूले धेरै षड्यन्त्र गर्न खोज्दा कम्युनिस्टहरूनै समाप्त हुने अवस्थामा पुगेको उनले बताएका छन् । ‘राजा, पञ्चायतले कांग्रेस सिध्याउन खोज्यो । उनीहरू आफै सक्किए । कांग्रेस सक्किएको छैन’, तिमिल्सिनाले भने, ‘कांग्रेसलाई सिध्याउन खोज्ने हो भने कम्युनिस्ट आफै सक्किन्छ । कांग्रेस जनताको पार्टी हो । सिद्धिने पालो कम्युनिस्टको आएको छ ।’

नेता तिमिल्सिनाले संविधानले संसद विघटन गर्ने अधिकार नदिएको दोहोर्‍याएका छन् । जनताले दिएको बहुमतलाई कम्युनिस्टहरूले निर्मलाका दोषी बचाउन, सुनकाण्डका दोषीलाई संरक्षण गर्न, यती, वाइडबडी काण्ड गर्न प्रयोग गरेको उनले आरोप लगाएका छन् ।

नेपाली कांग्रेस गेरूवा गाउँपालिका गाउँ कार्यसमितिले आयोजना गरेको विरोध प्रदर्शनमा बर्दिया कांग्रेसका पूर्वसभापति अरुणप्रसाद सिंह, कांग्रेसका युवा नेता मीनराज चौधरी, गेरुवा गाउँपालिकाकी उप–प्रमुख एवम् कांग्रेस नेतृ हेमा चौधरीलगायत सयौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2021 January 16, 2:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया