बालुवाटारले भ्रष्टाचारी र बलात्कारीलाई संरक्षण गर्‍योः नेविसंघ महामन्त्री थपलिया

चौरजहारी । नेपाल विद्यार्थी संघ (नेविसंघ)की महामन्त्री उर्मिला थपलियाले प्रधानमन्त्री केपी ओली नेतृत्व कामचलाउ कम्युनिस्ट सरकारले भ्रष्टाचारी र बलात्कारीको मात्रै संरक्षण गरेको आरोप लगाएकी छिन् ।

नेपाली कांग्रेस रुकुम पश्चिमले बिहीबार चौरजहारीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसकी युवा नेतृ समेत रहेकी थपलियाले कम्युनिष्टले जनतालाई झुक्याउँदै आएको आरोप लगाइन् । उनले प्रधानमन्त्री ओलीले बालुवाटारमा भ्रष्ट र बलात्कारीहरूलाई संरक्षण गरेर राखेको दाबी गरेकी हुन् ।

महामन्त्री थपलियाले झण्डै दुईतिहाईको बहुमत पाउँदा पनि कम्युनिस्टहरूले सत्ता चलाउन नसकेको बताइन् । उनले संसद विघटन गरेर कम्युनिस्टहरू जिम्मेवारी बहन गर्न सक्दैनन् भन्ने पुष्टि गरेको बताएकी छिन् ।

कम्युनिस्टहरू शासन गर्न असफल भएपछि देशलाई निकास दिने कांग्रेस मात्रै रहेको बताएकी नेविसंघकी महामन्त्री थपलियाले कांग्रेसले नै देश र जनताको काम गर्ने बताइन् ।

उनले माओवादी र कम्युनिस्टहरूले रुकुमका साथै देशभरि झुटको खेती गरिरहेको आरोप लगाएकी छिन् । थपलियाले कम्युनिस्टहरूको असली रुप जनताले बल्ल देखेको बताएक छिन् ।

जिल्ला विकास समिति रुकुमका तत्कालीन सभापति एवम् कांग्रेसका नेता हरिभक्त ओलीको २२औँ स्मृति दिवसका अवसरमा चौरजहारी कांग्रेसले विशेष कार्यक्रम राखेको थियो ।

Published : Thursday, 2021 January 14, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया