कामचलाउ ओली सरकारका कम्युनिस्ट मन्त्रीहरूलाई घर बाहिर निस्कनै समस्या

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कामचलाउ कम्युनिस्ट सरकारका मन्त्रीहरूलाई सार्वजनिक कार्यक्रमहरूमा जान समस्या हुन थालेको छ ।

ओली सरकारका मन्त्रीहरूलाई ठाउँ–ठाउँमा कालोझण्डाको सामना गर्नुपरेको छ । केही ठाउँमा ओलीको पार्टीका नेताहरूले ढुंगा खानुुपरेको छ ।

मंगलबार सर्लाहीको कार्यक्रममा भाग लिन पुगेका ओलीका उप–प्रधानमन्त्री ईश्वर पोखरेललाई कालोझण्डाको सामना गर्नुपरेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल निकटका युवा विद्यार्थीले पोखरेललाई कालोझण्डा देखाए विरोध जनाएका छन् ।

सर्लाहीको मलंगवामा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका उप–प्रधानमन्त्री पोखरेललाई दाहाल–नेपाल समूहका युवा विद्यार्थीले कालोझण्डा देखाएका हुन् । अप्रिय घटना भने हुन पाएन ।

उता, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नालाई बझाङमा कालोझण्डाको सामना गर्नुपरेको छ ।

चैनपुरमा नेकपा बझाङको आयोजनामा हुन लागेको बृहत आमसभालाई सम्बोधन गर्न मन्त्री ठगुन्ना मंगलबार बझाङ पुगेका हुन् ।

नेकपामा विभाजन देखिएपछि नेकपाको ओली समूहले बझाङमा शक्ति प्रदर्शनसहित आमसभा गर्न लागेको हो ।

आमसभामा सहभागी हुन जिल्लाका विभिन्न ठाउँबाट कार्यकर्ता सदरमुकाम आइरहेका छन् ।

बझाङमा नेकपाका ओली र प्रचण्ड–माधव समूहले गुटगत कार्यक्रम गर्दै आएका छन् ।

मन्त्रीको आगमनलाई लक्षित गरेर जिल्ला सदरमुकाम चैनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

चैनपुरको लोकतान्त्रिक चोकमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

मन्त्री ठगुन्ना बझाङ पुग्नुअघि प्रचण्ड–माधव समूहका कार्यकर्ताले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्नुका साथै टायर बालेका थिए ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला शान्ति व्यवस्थामा खलल पुग्ने र दुई समूहबीच झडपको स्थिति सिर्जना हुने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

प्रचण्ड–माधव समूहले मन्त्री ठगुन्नालाई बाहुलीगाड नजिक कालोझण्डा देखाएको छ ।

संसद विघटन असंवैधानिक भएको भन्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी र अनेरास्ववियु जिल्ला कमिटीले कालो झण्डा देखाएका हुन् ।

कार्यक्रम गरेपछि दुवै पक्षका कार्यकर्ताबीच झडपको स्थिति आउने सक्ने भन्दै सतर्कता अपनाउन सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताएका छन् ।

बझाङमा पूर्व वनमन्त्री भानुभक्त जोशी सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापा, जिल्ला अध्यक्ष मीनबहादुर कुंवर लगायतको समूह प्रचण्ड–माधव समूहमा देखिएका छन् ।

Published : Tuesday, 2021 January 12, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया