गणेश तिमिल्सिनाका कार्यकर्ता कांग्रेसमा प्रवेश, पर्वतमा कम्युनिस्टहरूको पतन शुरू

कुश्मा । नेपाली कांग्रेस पर्वतले प्रधानमन्त्री केपी ओली सरकारको असंवैधानिक कदमविरूद्ध पर्वत जिल्लाका विभिन्न स्थानमा भब्य प्रदर्शन गरेको छ ।

पर्वतको क्षेत्र नं. १ को मोदी गाउँपालिकाको डिमुवामा र क्षेत्र नं. २ अन्तर्गत पैयुँ गाउँपालिकाको हुवासमा कांग्रेसले शनिबार ओली सरकारविरुद्ध भब्य कार्यक्रमहरू गरेको छ ।

पैयुँको हुवासको विरोधसभालाई कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सम्बोधन गरेका थिए ।

मोदीको विरोधसभालाई पर्वत कांग्रेसका सभापति खिमप्रसाद भुसालले सम्बोधन गरेका थिए ।
सभापति खिमप्रसाद भुसालले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरूद्ध कांग्रेसले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बताए । उनले कांग्रेसलाई सत्ता चाहिएर सडकमा नआएको बताए ।

जनताको संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका खातिर कांग्रेस आन्दोलनमा आएको भुसालले बताएका छन् ।

उनले सर्वोच्च अदालतमा विचाराधीन रहेको संसद विघटनको मुद्दाको फैसला जनताको सर्वोच्चताको पक्षमा आउने बताएका छन् ।

नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले ओलीको असंवैधानिक कदमले जनताको अधिकार खोसिएको बताए । जनतालाई झुठ बोलेर, जालझेल गरेर निर्वाचन जितेका कम्युनिस्टले संसद विघटन गरेर जनताको मतको अपमान गरेको उनले बताए । गुरुङले कम्युनिस्टहरूलाई गाउँमा भोट माग्न आउँदा लखेट्नुपर्ने बताएका छन् ।

कांग्रेसका युवा नेता समेत रहेका तरुण दलका कोषाध्यक्ष गुरुङले निर्वाचनमा पर्वत जिल्लाबाट कम्युनिस्टहरूको पतन शुरू हुने चेतावनी दिएका छन् ।

कांग्रेसका युवा नेता एवम् कोषाध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले कम्युनिस्टहरू तीन वर्षभित्र पतन भएर गएको बताए । संसद विघटन गरेर कम्युनिस्टहरू शासन सत्ता चलाउन असफल भएको पुष्टि भएको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य ललितकला गुरुङ, उप–सभापति दुर्गाबहादुर खत्री, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, नेताहरू बसन्तबहादुर सिके, मीना केसी, सीता काफ्ले लामिछाने, राम शर्मा पौडेल, डा.चूडामणि शर्मालगायतको उपस्थिति रहेको थियो ।

विरोध प्रदर्शनमा हजारौं कांग्रेस कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेकपा परित्याग गरी स्थानीय महिला नेतृ दीपा खड्का पौडेल लगायतका २० जना कांग्रेसमा प्रवेश गरेका छन् ।

राष्ट्रिय सभामा पर्वत जिल्लाबाट तत्कालीन एमालेबाट निर्वाचित गणेश तिमिल्सिनाले जिल्लामा काम गर्न नसकेको भनेर आलोचना भएका बेला उनकै पार्टी नेकपाका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् । तिमिल्सिना राष्ट्रिय सभाको अध्यक्ष छन् ।

Published : Sunday, 2021 January 10, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया