ओलीले भ्रष्टाचारीको मुख हेर्दैन भन्ने, गोकुललाई घरभित्र राख्नेः बहादुरसिंह लामा

नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् विघटित प्रतिनिधि सभाका सांसद बहादुरसिंह लामाले प्रधानमन्त्री केपी ओली र कम्युनिस्टहरूले संविधान र लोकतन्त्र विरोध काम गरेकोले विरोध प्रदर्शनमा उत्रिनु परेको बताएका छन् ।

नुवाकोट जिल्लामा शनिबार आयोजित सरकार विरोधी कार्यक्रमलाई सम्बोधन गर्दै लामाले कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षाका लागि सडकमा आएको बताए । उनले मुलुक, जनता र संविधानको रक्षाका लागि कांग्रेसले सधैँ आन्दोलन गर्न तयार रहेको बताए ।

उनले संसद विघटन गरेर ओली र कम्युनिस्टहरूले मुलुकमा कम्युनिस्ट शासन लागू गर्न खोजेको बताएका छन् । नेता लामाले कांग्रेस निर्वाचनका लागि तयारी अवस्थामा रहेको समेत बताए ।

‘कम्युनिस्टले लोकतन्त्र विरोधी काम गर्दा कांग्रेसले लोकतन्त्रको रक्षा गर्छ । संविधानको रक्षा गर्न सबै ठाउँमा जनताले सडक तताउनुपर्छ’, उनले भने, ‘मुलुकमा अफ्ठ्यारो अवस्था आउँदा कांग्रेस रक्षाका लागि आउँछ ।’

कांग्रेस नेता लामाले हिजोका दिनमा कम्युनिस्टले झुक्काएर जनताको भोट पाएको बताए ।

‘स्थिर सरकार हुँदा विकास, समृद्धि, न्याय, राम्रो हुन्छ भन्ने मान्यताले जनताले भोट दिएका थिए’, उनले भने, ‘कम्युनिस्टले सरकार तीन वर्ष चलाउन सकेनन् । उखान टुक्काको भरमा तपाईको मन जिते । उखान र टुक्काले देश चल्दैन भन्ने प्रष्ट भएको छ ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको मुख हेर्दैन भनेर ७० करोड कमिशन माग्ने गोकुल बास्कोटालाई आफ्नै घरमा राखेको भन्दै ओली र कम्युनिस्टहरूप्रति ब्याङ्ग्य गरेका छन् ।

‘गोकुल बास्कोटा ओलीकै घरमा बस्छन् । छोरा जस्तै भएर बसेका छन् । ओलीले भ्रष्टाचारीको मुख हेर्दैन भन्छन्’, उनले भने, ‘७० करोड कमिशन मागेको अडियो आयो । मन्त्री पद नै गुमाउनु प¥यो ।’

नुवाकोट कांग्रेसले कम्युनिस्ट सरकारविरुद्ध भब्य प्रदर्शन गरेको छ । कांग्रेसका नेता कार्यकर्ताले ओली र कम्युनिस्टविरुद्ध नारावाजी गरेका छन् ।

Published : Sunday, 2021 January 10, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया