कम्युनिस्टविरुद्ध राप्तीको पहिलो आन्दोलनको घोषणा, योगेन्द्र चौधरीले सम्बोधन गर्ने

तीर्थ ज्ञवाली

मसुरिया । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेपाली कांग्रेस दाङको राप्ती गाउँपालिकाको कार्यसमितिले विरोध सभा गर्ने भएको छ ।

आइतबार देउखुरीको शिरिचौर घण्टदेवमा बसेको कांग्रेसको राप्ती गाउँपालिका कार्यसमितिको बैठकले माघ ३ गते सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो । कार्यक्रमलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले सम्बोधन गर्नेछन् ।

राप्ती गाउँपालिकाका कांग्रेस सभापति दुर्योधन पाण्डेले माघ ३ गते हुने विरोध सभामा सहभागी हुन सबैलाई अनुरोध गरेका छन् । सभापति पाण्डेले कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय र निर्देशानुसार राप्ती गाउँपालिकामा कार्यक्रम गर्न लागिएको बताए ।

दाङ कांग्रेसका जिल्ला सदस्य हरि भुसालले माघ ३ गते शनिवारका दिन ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गर्न लागेको जानकारी दिएका छन् ।

कांग्रेसले माघ २ गते शहीद श्रीनारायण चौधरीको स्मृति सभा गर्ने निर्णय पनि गरेको छ । तत्कालीन माओवादीले चौधरीलाई घरबाट अपहरण गरेर हत्या गरेका थिए । तत्कालीन लालमटिया गाविसका अध्यक्ष समेत रहेका चौधरी राप्ती गाउँपालिकामा लोकप्रिय मानिन्छन् ।

बैठकमा पूर्वसांसद सुशीला चौधरी, नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेको पनि उपस्थिति रहेको थियो ।

कांग्रेसले माघ ४ गतेदेखि वडास्तरमा विरोध सभा तथा नागरिक सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको सभापति पाण्डेले जानकारी दिएका छन् ।

केन्द्रको निर्देशनलाई पालना गर्दै राप्ती गाउँपालिका कार्यसमितिले अन्य गाउँपालिकाहरूले कम्युनिस्टविरुद्ध संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्न खुट्टा कमाएका बेला आइतबार ओली र कम्युनिस्ट सरकारविरुद्ध आन्दोलनहरू घोषणा गर्दै सशक्त बनाउने निर्णय गरेको छ । कांग्रेसले वडाहरूमा नागरिक सचेतना अभियान चलाउने आफ्नै कार्यक्रम बनाएको छ ।

Published : Sunday, 2021 January 10, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया