कम्युनिस्ट लुटेरा हुन् भन्ने पुष्टि भयो, लखेट्ने समय आयोः कांग्रेस नेतृ उपाध्याय

सरस्वती बजार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर संविधान मिचेको आरोप लगाएकी छिन् ।

नेपाली कांग्रेस मकवानपुरले क्षेत्र नं. २ ‘क’को थाहा नगरपालिकास्थित सरस्वती बजारमा शनिबार आयोजना गरेको सरकार विरोधी सभालाई सम्बोधन गर्दै कांग्रेस नेतृ उपाध्यायले ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको बताइन् ।

ओलीले शुरुदेखिनै संविधान मिच्दै आएको बताएकी उनले भनिन्, ‘प्रधानमन्त्री पदको शपथ लिँदा पनि ओलीजीले सांसद पदको शपथ लिनुभएन । त्यस बेलानै उहाँले संविधान उल्लंघन गर्नुभएको हो ।’

कांग्रेस नेतृ उपाध्यायले ओलीले सरकारमा भ्रष्टाचारीहरूको झुण्ड बनाएर बसेको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘ओलीजीले कम्युनिष्टहरू भनेका लुटेर खाने पार्टी भएको कुरा प्रमाणित गर्नुभएको छ ।’

‘कम्युनिष्टहरू सर्वसत्तावादी बनेका छन्’, उनले भनेकी छिन्, ‘कम्युनिष्ट भनेको अलोकतान्त्रिक पार्टी हो । काण्डै काण्डको पार्टी हो । कम्युनिष्ट पार्टीलाई जनताले लखेट्ने समय आएको छ ।’

नेतृ उपाध्यायले सरकारले जनतालाई सूचनाको हक दिन जरुरी रहेको बताएकी छिन् ।

कम्युनिस्टहरू सूचना लुकाएर जनतालाई गुमराहमा राखेको समेत उनले आरोप लगाइन् ।

‘कम्युनिष्टहरूको एकअर्काको जुँगाको लडाइँले देशलाई भंगालोमा हाल्ने काम गरेका छन्’, उनले भनेकी छिन् ।

Published : Saturday, 2021 January 9, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया